विश्वकप फुटबल : समूह ‘ए’बाट कुन–कुन टिम पुग्लान् अन्तिम–१६ मा ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा मंगलबारदेखि समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू हुँदै छन् । आज समूह ‘ए’का दुई र समूह ‘बी’का दुई गरी चार खेलहरू हुँदै छन् ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशाला मंगलबार राति ८ः४५ बजे इक्वेडर र सेनेगल खेल्दा सोही समयमा अल बायत रंगशालामा आयोजक कतार नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै छ ।

विश्वकपमा रोमाञ्चक बनेको समूह ‘ए’बाट आयोजक कतार अन्तिम खेलअगावै विश्वकपबाट बाहिरिँदा इक्वेडर, नेदरल्यान्ड्स र सेनेगल अझै प्रिक्वार्टरफाइनलको दौडमा छन् ।

आजको खेलमा नेदरल्यान्ड्सले कतारलाई पराजित गरे वा बराबरीमा रोके पनि अन्तिम–१६ मा स्थान बनाउनेछ । सुरुआतका दुवै खेलमा पराजित कतारलाई समूहकै कमजोर टिमका रूपमा हेरिएको हुँदा नेदरल्यान्ड्स केही सहज अवस्थामा छ ।

समूहमा चार अंक जोडेको नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेल्दा पनि अंकविहीन कतार पुछारमा छ । कतारका लागि यो प्रतिष्ठाको खेल बन्नेछ । आयोजकको हैसियतमा कतार कम्तीमा नेदरल्यान्ड्सलाई बराबरीमा रोक्ने लक्ष्यमा हुनेछ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा इक्वेडरसँग १–१ को बराबरीमा रोकिएको थियो । कतार पहिलो खेलमा इक्वेडरसँग २–० ले र दोस्रो खेलमा सेनेगलसँग ३–१ ले हारेको थियो ।

अर्कोतर्फ, इक्वेडर र सेनेगलबीचको विजेता सोझै अन्तिम–१६ मा प्रवेश गर्नेछ । इक्वेडरलाई बराबरीको नतिजाले पनि प्रिक्वार्टरफाइनलसम्म डोहोर्‍याउनेछ । सेनेगललाई भने जित्नैपर्ने दबाब छ ।

समूहमा दुई खेलबाट चार अंक जोडेको इक्वेडर तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको सेनेगल तेस्रो स्थानमा छ ।

इक्वेडरले पहिलो खेलमा कतारलाई २–० ले पराजित गरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा रोकेको थियो । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० ले पराजित भएको सेनेगलले दोस्रो खेलमा आयोजक कतारलाई ३–१ ले हराएको थियो ।

फरक समीकरण

मंगलबार हुने खेलमा यदि कतारले नेदरल्यान्ड्सलाई स्तब्ध बनाए र अर्को खेलमा सेनेगलले इक्वेडरलाई हराए पनि दक्षिण अमेरिकी टिमको गोलअन्तर डच टिमको भन्दा राम्रो भए इक्वेडर अन्तिम–१६ मा प्रवेश गर्नेछ ।

कतारसँगको हारका बाबजुद पनि नेदरल्यान्ड्सको गोलअन्तर राम्रो रहे नेदरल्यान्ड्स नै प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछ । यदि, नेदरल्यान्ड्स र इक्वेडरको गोलअन्तर समान रहे ‘फेयर प्ले’मा अघि रहने टिम अन्तिम–१६ मा प्रवेश गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *