एकै घरका दुई दाजुभाई प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाडौं। एकै घरका दुई दाजुभाइ लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पाल्पा रामपुर नगरपालिकाका भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ लुम्बिनी प्रदेश प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।

पाल्पा निर्वाचन क्षेत्र नं १ (१) को प्रदेशसभा सदस्यमा राजुप्रसाद श्रेष्ठ (भाइ) र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) बाट भोजप्रसाद श्रेष्ठ (दाजु) निर्वाचित भएका छन् । भोजप्रसाद लामो समयदेखि रुपन्देहीमा रहेर राजनीतिक क्षेत्रमा अगाडि बढेका छन् भने राजुप्रसादले रामपुरमै रहेर राजनीति गर्ने क्रममा यस पटक प्रदेशसभा सदस्यमा जित हासिल गरेका छन् ।

राजुप्रसाद प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनाललाई पछि पार्दै १७ हजार छ सय ४२ मत प्राप्त गरी प्रदेशसभा सदस्य बनेका छन् । प्रतिस्पर्धी खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गरेका छन् ।

भोजप्रसाद २०७४ मा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले केही समय लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा समेत रहेर काम गरे । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वामदेव घिमिरे क्षेत्रीलाई पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कूल खसेको मतमध्ये १६ हजार तीन सय मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी घिमिरेले नौ हजार चार सय १० मत पाएका छन् । स्व. पिता लोकप्रसाद श्रेष्ठ र माता शेषकुमारी श्रेष्ठका भोजप्रसाद साहिलो र राजप्रसाद कान्छो सन्तान हुन् ।

विजय गच्छादारलाई हराउँदै सुनसरी ३ मा एमालेकी भगवती चौधरी निर्वाचित

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । आज मंगलबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार ७८८ मत ल्याएर विजयी हासिल गरेकी हुन् ।

उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार १८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार ६०० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले ६ हजार ४५३ मत प्राप्त गरेका छन् ।

२०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका कांग्रेसका गच्छदारको संसदीय यात्रामा पहिलोपटक ‘ब्रेक’ लागेको छ भने तेस्रो पटकको प्रयासमा लक्ष्य हासिल गर्न सफल भएकी चौधरीलाई संसद प्रवेशको बाटो खुलेको छ ।

सुनसरी–३ को निर्वाचित जनप्रतिनिधि बनेर सिंहदरबार प्रवेश गर्न निरन्तर प्रयास गरिरहेकी ५१ वर्षीया चौधरी तेस्रो पटकमा लक्ष्य हासिल गर्न सफल भएकी हुन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा अनेरास्ववियूमा २०४८ सालमा संगठित बनेकी चौधरी अहिले एमाले केन्द्रीय सदस्य छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *