मन्त्री बनेपछि ‘मैमत्त मनाङे’, बोलीमा बेलगाम

पोखरा । एक समयका कुख्यात गुण्डा नाइके हुन्, राजिव गुरुङ उर्फ दीपक मनाङे, धेरैले ‘डन’का रुपमा चिन्छन् उनलाई । तर उनको परिचय बदलिएको छ । जननिर्वाचित सांसद मात्रै होइन अहिले उनी गण्डकी प्रदेशका मन्त्री हुन् । दोस्रो कार्यकाल हो मन्त्री बनेको पनि तर, राजनीतिमा लागेर सुध्रिन्छन् कि भनेको उनले झन् वैधदादागिरी देखाउन थालेका छन् । उनको स्वभाव र हत्कण्डा गुण्डा शैलीकै छ ।

पछिल्लो समय उनको टिप्पणीका विषयलाई लिएर चर्को बिरोध भइरहेको छ । विभिन्न निकायबाट कारवाहीको माग समेत भइरहेको छ । प्रधानमन्त्री के पी ओली, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङप्रति उनले गरेको छुद्र टिप्पणी धेरैले मन पराएका छैनन् । स्वतन्त्र सांसद राजिव गुरुङ सत्ताको खेलमा लागेर मन्त्री बनेपछि मैमत्त बनेको आम बुझाई छ ।

यत्तिमै उनको अभ्रदता रोकिएको छैन । नेपाली समाजमा चल्तीको उखान छ ‘यसै जोगी भाङ खाएको’ अहिले मनाङेमा यो ठ्याक्कै लागू हुन्छ । नवनियुक्त विनाविभागीय मन्त्री मनाङेको बोली बेलगाम बन्दै गएको छ । एकपछि अर्को विवादमा मुछिँदै गएका छन् ।

उनले राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश सिलवालको चरित्रहत्या गर्दै अनर्गल टिप्पणी गरेको भिडियो सार्वजनिक भएको छ ।

एक अन्तरवार्तामा मनाङेले भनेका छन्, ‘त्यो सिलवालको कस्तो रहेछ भने रक्सी र केटी भनेपछि पागल हुने के । सायद त्यसको घरमा प्रोब्लम होला ।’ उनले सिलवालकी पत्नीको विषयमा पनि टिप्पणी गरेका छन् ।

पत्रकारहरु हाँसेपछि उनी भन्छन्, ‘तपाईंहरु हाँस्ने कुरा होइन, तपाईंहरुलाई जोक गर्याजस्तो भयो होला तर फ्याक्ट हो । कुराकानीका क्रममा उनले राखेप सदस्य राजेश गुरुङमाथि पनि अभद्र टिप्पणी गरेका छन् ।

राखेपले सोमबार वक्तव्य जारी गरी मन्त्रीजस्तो जिम्मेबार पदमा पुगेको व्यक्तिबाट भ्रामक र चरित्रहत्या हुनु गम्भीर भएको भन्दै भत्र्सना गरिएको छ । राखेपका निमित्त सदस्यसचिव पुरेन्द्र विक्रम लाखेले जारी गरेको वक्तव्यमा जनप्रतिनिधिबाट यस्ता शव्दहरु प्रयोग हुनु दुःखद भएको भन्दै कानूनी कारबाहीको माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *