इन्द्रावती नदीमा आएको बाढीले ६ जना बगायो (अपडेट)

काठमाडौं । आज परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ ।
मेलम्ची खोल (इन्द्रावती नदी) मा आएको बाढीले कम्तिमा ६ जनालाई बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।

मेलम्चीमा भीषण बाढी आए पनि राती १० बजेसम्म बाढीले मेलम्ची खानेपानीको ड्याम वा सुरुङलाई कुनै क्षति पुगेको जानकारी प्राप्त नभएको मेलम्ची परियोजनामा कार्यरत निमेश रेग्मीले बताए ।

सुरुङमा परीक्षणका लागि ढोका बन्द गरिएको र ड्याम तथा सुरुङ अनुगमनका लागि राखिएको सीसी क्यामेराहरुले काम गरी रहेको र त्यहाँ कुनै क्षति नदेखिएको उनले बताए ।

साथै हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएकाे हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएको सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उक्त फर्ममा काम गर्ने कामदारलाई बगाएको भन्ने छ तर कति जना बगायो भन्ने बारेमा विवरण संकलनको काम भइरहेको उनले बताए ।

यसै गरि बाढीले हेलम्बुमा पुल केही होटलहरु पनि बगाएको प्रजिअ पोखरेलले जानकारी दिए । यस बारेमा अझै के–के क्षति भएको छ भन्ने बारेमा स्थलगत डाटा सङ्कलन भइरहेकोले भोलिसम्म क्षतिको विवरण आउने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *