प्रतिनिधिसभाको समानुपातिकतर्फ अहिलेसम्म कुन दलको कति मत ?

काठमाडौं । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

शनिबार दिउँसो सवा २ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ८३ हजार ३८७ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८० मत पाएको छ ।११ लाख २३ हजार ७८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८६ हजार २५९ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९४३ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ९४ हजार ३८५ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १०० मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ,

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २८० मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् । अहिलेसम्म एक करोड चार लाख चार हजार ७६६ मत गनिएको छ ।

मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

बाजुराको प्रतिनिधिसभाको मतगणना जारी छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार सात सय चार मतगणना गर्दा पाण्डेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् ।

एमालेका उमेदवार थापाको गृहनगर बूढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

उता, स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गुरुङले २५ हजार ६५३ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेकी एमालेकी उमेदवार पद्मा अर्यालले २२ हजार २१३ मत ल्याएकी छन् । उनी गुरुङभन्दा ३ हजार ४४० मतले पछाडि छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ७ हजार ६१० मत ल्याएका छन् । स्याङ्जा–२ मा ७० हजार १९१ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *