कतार विश्वकप : ब्राजिलकाे टोलीबाट यी दुई खेलाडी आउट ! को-को ?

काठमाडौं । ब्राजिलका गाब्रियल जिसस र एलेक्स टेलेस विश्वकपका बाँकी खेल गुमाउने भएका छन् । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग १–० ले पराजित भएको थियो ।

उक्त खेलमा यी दुवै खेलाडीको दाहिने घुँडामा चोट लागेको थियो । शनिबार बिहान जिसस र टेलेसको एमआरआई स्क्यान गरिएको थियो ।

ब्राजिल फुटबल संघले कतारमा जारी विश्वकपमा जिसस र टेलेस दुवैले प्रतियोगिताका बाँकी खेल खेल्न ‘असम्भव’ भएको जनाएको छ । प्रतियोगितामा उपाधि दाबेदार मानिएको ब्राजिलले आउँदो सोमबार राति अन्तिम–१६ मा दक्षिण कोरियाविरुद्ध खेल्नेछ ।

“एलेक्स टेलेस र गाब्रियल जिससको शनिबार बिहान टिमका डाक्टर रोड्रिगो लास्मारले निरीक्षण गरेका थिए । उनीहरूको दाहिने घुँडाको एमआरआई रिपोर्ट हेर्दा फिफा विश्वकप कतार २०२२ का बाँकी खेलमा खेल्न सक्ने सम्भावना न्यून छ,’’ ब्राजिल फुटबल संघको विज्ञप्तिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आर्सनलका फरवार्ड जिसस र म्यानचेस्टर युनाइटेडबाट लोनमा सेभिया गएका रक्षक टेलेस कतारमै बसेर उपचार गर्ने वा आ–आफ्नो क्लबमा फर्कने भन्ने निर्णय हुन बाँकी छ ।

यसअघि, ब्राजिलका फरवार्ड नेइमारको पनि कुर्कुच्चामा चोट लागेको थियो । चोटका कारण नेइमारले दुई खेल बेन्चमै बिताएका थिए । ड्यानिलो र एलेक्स सान्ड्रो पनि घाइते छन् ।

डिपाए र ब्लाइन्डको गोलमा नेदरल्यान्ड्सलाई अग्रता

मेम्फिस डिपाए र ड्यानी ब्लाइन्डको गोलमा नेदरल्यान्ड्सले कतार विश्वकपको अन्तिम–१६ मा अमेरिकाविरुद्ध पहिलो हाफमा २–० को अग्रता लिएको छ ।

नेदरल्यान्ड्सले मेम्फिस डिपाएको गोलबाट दशौँ मिनेटमा अग्रता लिएको थियो । बार्सिलोनाका फरवार्ड डिपाएले डेन्जेल डमफ्रिजको क्रसलाई पोस्टको दिशा दिएका हुन् । ब्लाइन्डले इन्ज्युरी समयमा नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए । ब्लाइन्डको गोलमा पनि डमफ्रिजले क्रस गरेका थिए ।

अमेरिकाले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन । सुरुमै अमेरिकाका क्रिस्टियन पुलिसिकले हानेको प्रहार नेदरल्यान्ड्सका गोलकिपर आन्द्रेस नोपर्टले बचाएका थिए । ४३औँ मिनेटमा टिमोथी वेहले हानेको प्रहारलाई पनि नोपर्टले बचाएका थिए ।

नेदरल्यान्ड्स विश्वकपको पछिल्ला १९ खेलमा युरोपबाहिरका टिमसँग हारेको छैन । सन् १९९४ को क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएपछि नेदरल्यान्ड्स युरोपबाहिरको टिमसँग हारेको छैन ।

नेदरल्यान्ड्स समूह ‘ए’को विजेता टिम हो । समूह चरणमा नेदरल्यान्ड्सले सेनेगललाई २–० ले पराजित गरेको थियो । इक्वेडरसँग १–१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा आयोजक कतारमाथि २–० को विजय हासिल गरेको थियो ।

अमेरिका समूह ‘बी’को उपविजेता टिम हो । अमेरिकाले समूह चरणमा वेल्ससँग १–१ र इंग्ल्यान्डसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा इरानलाई १–० ले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *