अन्तिम चरणमा मतगणना, कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?

काठमाडाैं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा चासो बढेको छ ।

प्रत्यक्ष तथा समानुपातिक तर्फको अन्तिम मतपरिणाम एक–दुई दिनभित्रमा आइसक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुको समेत टुङ्गो लगाएर नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको विवरण संघीय संसदलाई उपलब्ध गराउने व्यवस्था रहेको छ ।

आयोगले नवनिर्वाचित सांसदहरुको विवरण पठाएको केही दिनभित्रै विशेष कार्यक्रम राखेर सांसदहरुको सपथ गराइने संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए ।

सांसदहरुलाई संसदमा रहेका सदस्यहरू मध्ये जेष्ठ सदस्यले सपथ गराउनेछन्, त्यसअघि उनले राष्ट्रपतिबाट सपथ लिने व्यवस्था रहेको छ । सांसदहरुले सपथ लिएर पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्ने व्यवस्था रहेको छ ।

सांसदहरुको सपथ कहिले गर्ने भन्नेबारेमा अझै निश्चित भइनसकेको प्रवक्ता डा. पाण्डेले बताए । आयोगको पत्र आएपछि सांसदहरुलाई सपथ गराउने कार्यक्रमबारे पत्र पठाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले जति छिटो नवनिर्वाचित सांसदको विवरण सचिवालयमा पठाउँछ त्यति छिटो सपथ हुने उनले बताए ।

प्रतिनिधिसभा समानुपातिकतर्फ यी हुन् पाँच हजारभन्दा कम मत पाउने १० दल

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना गरिएको छ । त्यसमध्ये १० दलले पाँच हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगको वेबसाइटमा राखिएको तथ्यांकानुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ सबैभन्दा कम मत पाउनेमा नेश्नलिष्ट पिपल्स पार्टी छ । सो पार्टीले दुई हजार १५ मत पाएको छ ।

यो सूचीअनुसार त्यसपछि कम मत पाउनेमा राष्ट्रिय नागरिक पार्टी छ । राष्ट्रिय नागरिकले दुई हजार १४३ मत ल्याएको छ । नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले दुई हजार १९१, नेपाल समावेश पार्टीले दुई हजार ९५२, मौलिक जरोकिलो पार्टीले तीन हजार २३५, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले तीन हजार ३३२ मत पाएका छन् ।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार ४०४, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले तीन हजार ६९४, एकीकृत शक्ति नेपालले तीन हजार ७७६ र विवेकशील साझा पार्टीले चार हजार ३९ मत ल्याएका छन् । अरू दलले पाँच हजारभन्दा बढी मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *