दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

काठमाडौं। गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । उनी मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा पुन: निर्वाचित भएका छन् ।

एमाले अध्यक्ष ओलीले योगेश भट्टराईलाई दिए बधाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टी सचिव एवम् युवा नेता योगेश भट्टराईलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सोमबार बिहान ओलीलाई भेट्न बालोकोट पुगेका भट्टराईलाई ओलीले निर्वाचन जितेकामा बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय अभियानलाई सार्थक बनाउन सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

निर्वाचनपछि पहिलोपल्ट भएको भेटमा बधाई तथा शुभकामना साटासाट गरिनाका साथै समसामयिक विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेता भट्टराईले बदलिदो राजनीतिक परिवेशमा एमालेले अब चाल्नुपर्ने राजनीतिक कदमबारे अध्यक्ष ओलीसमक्ष आफ्नो विचार व्यक्त गरेको बताइएको छ ।

पहिलो संसदीय यात्रामा प्रवेश गर्दै कार्की

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् ।

नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका थिए । पार्टीमा उनी ‘विश्व’ उपनामले परिचित छन् ।

उनका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक जीवन २०४२ सालदेखि सुरु भएको हो । उनले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गरेका थिए भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि बनेका थिए ।

कार्कीले जनयुद्धको अवधिमा विसं २०५४ मा सोलु ओखलढुङ्गाको जिल्ला सचिव, २०५५ देखि साढे तीन वर्ष भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र धनुषाको जिल्ला सचिव र इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

प्रदेशसभा १ मा कांग्रेस र प्रदेशसभा २ मा एमाले

दोलखा प्रदेशसभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले निर्वाचित भए । सत्ता गठबन्धनका उम्मेदवार काफ्लेले २३ हजार तीन सय ३१ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् ।

उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गरे । श्रेष्ठ नेकपा (एमाले) का दोलखा अध्यक्ष हुन् ।

प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । उनले १९ हजार चार सय १४ मत प्राप्त गरे । उनी यसअघि भीमेश्वर नगरपालिकाको प्रमुख थिए । केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार पाँच सय ९५ मत प्राप्त गरे । लामा नेपाली कांग्रेस दोलखाका सभापति हुन् ।

दोलखामा कूल ८५ हजार तीन सय ८८ मत खसेको थियोे । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । जिल्लामा कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए ।

प्रतिनिसभा र प्रदेशसभा निर्वाचनमा १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा (माओवादी केन्द्र) र दुई प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा (एमाले) एक/एक क्षेत्रमा विजयी भएका छन् ।

समानुपातिकमा एमाले अगाडि

दोलखामा प्रतिनिधिसभा समानुपातिकतर्फ ६५ हजार तीन सय ६२ मतगणना हुँदा नेकपा (एमाले)ले २३ हजार चार सय ४० मत प्राप्त गरी पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ हजार एक सय २३ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र)ले नौ हजार दुई सय ५१ मत प्राप्त गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई हजार ६२, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार पाँच सय २० र राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार आठ सय ४८ मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *