काठमाडौं। मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ १ सय ६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ ।
दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ ।
यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ तथा लोसपाले ४ सिट जितेको छ ।
यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १/१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै, ५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा १ सय ६५ प्रत्यक्ष र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचत हुने व्यवस्था छ।
निर्वाचन आयोगले कहिले बुझाउँछ राष्ट्रपतिलाई प्रतिवेदन ?
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४, नेकपा (एमाले)ले ४४, नेकपा (माओवादी केन्द्र)ले १८, नेकपा (एकीकृत समाजवादी)ले १० सिट जितेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ७, लोकतान्त्रिक समाजवादी ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १, जनमोर्चाले १, नेपाल मजदूर किसान पार्टीले १ र स्वतन्त्रले ५ सिट जितेका छन् ।
समानुपातिकतर्फ भने मतपरिणाम घोषणा हुन बाँकी छ । पुनः मतदान भएको दोलखा र पछि मतगणना भएको बाजुरा र स्याङ्जाको समानुपातिकतर्फको नतिजा आउन बाँकी छ । मतगणना सकिएपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनकाे प्रतिवेदन बुझाउनुपर्छ ।
मंसिर ४ गतेको निर्वाचन अघि आयोगले मंसिर २२ गतेभित्र प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, पुनः मतदान, मतगणना विवाद र मतणना नसकिएपछि प्रतिवेदन बुझाउने मिति लम्बिएको हो ।
सोमबार राति १२ बजेसम्ममा सबै मतपरिणाम आइसक्ने आयुक्त रामप्रसाद भण्डारी बताउँछन् । “दोलखा, बाजुरा, स्याङ्जाको समानुपातिकतर्फको मतपरिणाम सोमबार राति १२ बजेसम्म आइसक्छ । मतपरिणाम आइसकेपछि अरु प्रक्रिया अघि बढ्छ,” उनले भने ।
मतपरिणाम आइसकेपछि क्लस्टरअनुसार सांसदको नाम पठाउन आयोगले ७ दिनको म्याद दिएर दललाई पत्र लेख्नुपर्ने व्यवस्था रहेको छ । दलको पत्र आइसकेपछि आयोगले दलहरूको सांसद संख्याबारे निर्णय गर्ने प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने उनले बताए ।
“सम्पू्र्ण मतपरिणाम आइसकेपछि अब हामीले दललाई ७ दिनको समय दिएर पत्र लेख्नुपर्छ । सबै परिणाम आइसकेपछि यति सिट आयो क्लस्टरअनुसार को–को पर्छन् नाम दिनुस् भनेर पत्र लेख्नुपर्छ,”
अबको प्रक्रियाबारे उनले भने, “दलको पत्र आइसकेपछि यो दलको यति सांसद भए भनेर आयोगले निर्णय गर्नुपर्छ । त्यो समेतलाई एकमुस्ट राखेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने हो ।”
मंसिरभित्र प्रतिवेदन बुझाइसक्ने सम्भावना रहको उनले बताए । आयोगले प्रतिवेदन बुझाइसकेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ ।