यसरी हुने भयाे सत्ता गठबन्धनमा शक्ति बाँडफाँड, शिर्षनेता एकमत !

काठमाडाैं । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई सुदृढ बनाउन वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए।

‘संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सत्ता गठबन्धनका शीर्ष नेताहरू एकमत हुनुभएको छ। गठबन्धनलाई निरन्तरता दिने विषयमा संयुक्त वक्तव्य जारी हुँदैछ,’ गुरुङले भने। शक्ति बाँडफाँटको विषयमा भने सांसदहरूको शपथपछि छलफल गर्ने सहमति भएको गुरुङले बताए।

‘निर्वाचन आयोगले राष्ट्रपति कार्यालयलाई निर्वाचन प्रतिवेदन बुझाउनै बाँकी छ। निर्वाचितहरूको शपथ पनि हुनै बाँकी छ। पहिले केपी ओलीले गरेको गल्तीजस्तै अहिले गठबन्धनले सांसदहरूको शपथ नै ग्रहण नभई प्रधानमन्त्रीबारे निर्णय नगर्ने शीर्ष नेताहरूको मत छ,’ उनले भने।

समानुपातिकतर्फको मतगणना मङ्गलबार सकिने

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै संसद्को सबै मतगणना मङ्गलबार सकिने भएको देखिएको छ । प्रत्यक्षतर्फको मतगणना आजै सकिएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार ४३९ मतगणना सकिएको छ । सो प्रणालीतर्फ अब स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको केही मतगणना हुन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

मतगणनाको परिणाम आइसकेपछि आयोगमा दलहरूले बुझाएको समानुपातिकका उमेदवारको बन्दसूचीका आधारमा दलहरूले पाउने सिट सङ्ख्यासहित नाम सिफारिसका लागि आयोगले दलहरूलाई पत्राचार गर्नेछ । सोका लागि दलहरूले प्रतिनिधिसभातर्फ सात दिन र प्रदेशसभातर्फ तीन दिन समय पाउनेछन् ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेको जनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *