साउदी अरब जाँदै रोनाल्डो, प्रतिसिजन २० करोड युरो कमाउने !

काठमाडाैं । पोर्चुगलका फुटबल क्रिस्टियानो रोनाल्डोले अब साउदी अरबको क्लबमा खेल्ने भएका छन्। जनवरीदेखि उनले अल नासर क्लबका लागि खेल्ने स्पेनी सञ्चारमाध्यम मार्काले जनाएको छ।

विश्वकप सुरु हुनुभन्दा दुई दिनअघि मात्र रोनाल्डो इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट नाटकीय रुपमा बाहिरिएका थिए। त्यसयता उनी ‘फ्री एजेन्ट’ बनेका थिए।

रोनाल्डोको साउदी अरब सरुवा फुटबल इतिहासकै लाभप्रद हुने देखिएको छ। पाँच पटक बालोन डेओर जितेका रोनाल्डोले त्यहाँ प्रतिसिजन २० करोड युरो कमाउने छन्।

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा लियोनल मेस्सी र नेमारले क्रमशः ७.५ करोड र ७ करोड युरो कमाउँछन्। सानो क्लबमा खेले पनि रोनाल्डोले यी दुवैलाई कमाइको मामिलामा भने उछिन्नेछन्।

मार्काका अनुसार रोनाल्डोले सुरुमा १० करोड युरोको सम्झौता गर्नेछन्। त्यसपछि विज्ञापन प्रायोजनसम्बन्धी बेग्लै सम्झौताहरु हुनेछन्। अल नासर साउदी अरबको सबैभन्दा सफल क्लब हो।

२५ लाखले रंगशाला पुगेर हेरे विश्वकप फुटबल

कतारमा जारी विश्वकप फुटबलको समूह चरणका ४९ खेलका समग्र दर्शक संख्या २४ लाख ५० हजार रहेको फिफाले जनाएको छ।

समूह चरणका दर्शकको संख्या सन् २०१८ को विश्वकपको समूह चरण हेर्ने दर्शकको तुलनामा धेरै हो। समूह चरणमा सबैभन्दा धेरै दर्शक उपस्थित भएको खेल अर्जेन्टिना र मेक्सिकोबीचको खेल थियो। यो खेलमा ८८ हजार ९९६ दर्शक स्टेडियम पुगेका थिए। यो खेल फाइनल खेल हुने लुसेल स्टेडियममा भएको थियो।

त्यस्तै कतारको मानिसहरु जम्मा भएर लाइभ खेल हेर्नको लागि बनाइएको फिफा फ्यान फेस्टिबल भ्रमण गर्नेको संख्या पनि १० लाखभन्दा धेरै थियो। फिफा फ्यान फेस्टिबल सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा पहिलोपटक प्रयोग गरिएको थियो।

अहिलेसम्म विश्वकप हेर्न जानेमा सबैभन्दा धेरै दर्शक साउदी अरेबियाका छन्। साउदी अरेबियाका ७७ हजारभन्दा धेरै दर्शक कतार पुगेका छन्। त्यस्तै भारतबाट ५६ हजार ८९३ दर्शक कतार पुगेका छन्।

कतारमा विश्वकप सुरु हुनुपूर्व आयोजक मुलुकले विश्वकपमा १० लाखभन्दा धेरै पर्यटक आउने अपेक्षा गरेको थियो। टेलिभिजनबाट हेर्ने दर्शकको संख्यामा भने जापान र कोस्टारिकाबीचको खेल विश्वभरका ३ करोड ६० लाख मानिसले हेरेका थिए।

जबकी अमेरिका र इंग्ल्याण्डबीचको खेल अमेरिकाको टेलिभिजन इतिहासमा सबैभन्दा धेरै हेरिएको पुरुष फुटबलमा सबैभन्दा धेरै हेरिएको खेल थियो।

नकआउटमा सबै महादेश

फिफाका अनुसार सन् २००२ पछि पहिलोपटक नकआउट चरणमा सबै महादेशका टोली अटाएका हुन्। यसपटक अन्तिम १६ मा दुई टोली प्रवेश गरेका छन्। दुई अफ्रिकी टोली अन्तिम १६ मा प्रवेश गरेको यो दोस्रोपटक हो।

यसअघि सन् २०१४ को विश्वकपमा नाइजेरिया र अल्जेरिया विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका थिए। पहिलोपटक तीन एसियाली टोली अन्तिम १६ मा पुगे। एसियाबाट दक्षिण कोरिया, अष्ट्रेलिया र जापानले माथिल्लो चरणमा स्थान बनाएका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *