रवीन्द्र मिश्रको चुनाव कति खर्च गरे ? निर्वाचन आयोगमा बुझाए विवरण !

काठमाडौं । काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् ।

उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् । २०७४ सालको चुनावमा विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका उनले २१ लाख ५० हजार रुपैयाँ खर्च गरेका थिए ।

चुनाव लड्न आर्थिक सहयोगका लागि अपिल गर्दा ३३ लाख रुपैयाँ संकलन भएको भन्दै मिश्रले चुनावमा खर्च भएर बाँकी रहेको ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा राख्ने बताएका छन् ।

समानुपातिकमा कसले कति मत पाए ?

मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ । समानुपातिकर्फको भने मत गणना मंगबार सकिने निर्वाचन आयोगले जनाएको छ ।

सोमबार रातिसम्म एक करोड चार लाख ४७ हजार ७४९ सदर मत गणना भएको छ । जसमा नेकपा (एमाले) अग्रस्थानमा छ । उसले २८ लाख एकहजार ८७० मत मत पाएको छ ।

एमाले कांग्रेसभन्दा एक लाख २८ हजार ८४३ मतले अगाडि छ । दोस्रोमा रहेको नेपाली कांग्रसले २६ लाख ७३ हजार २७ मत पाएको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६३ हजार ८५ मत पाएको छ ।

यसै चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ६१४ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६८९ मत पाएको छ ।

जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४९ मत पाएको छ । यसै चुनावबाट उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीले तीन लाख ९४ हजार ५३७ मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले भने दुई लाख ९४ हजार ५०४ मत मात्र पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *