काठमाडाैं । फिफा विश्वकप २०२२ अन्तर्गत आज क्वार्टरफाइनल प्रवेशका लागि चार टोलीबीच प्रतिस्पर्धा हुँदै छ। गएराति भएका खेलमा जापानलाई पराजित गर्दै क्रोएसिया र दक्षिण कोरियालाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
क्रोएसियाले जापानलाई पेनाल्टीमा ३-१ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए।
त्यस्तै, अर्को खेलमा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफमा ब्राजिलले चार गोल गरेको थियो भने दोस्रो हाफमा दक्षिण कोरियाले एक गोल गरेको थियो।
यसअघि अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स, अस्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना, पोल्यान्डलाई पराजित गर्दै फ्रान्स र सेनेगललाई पराजित गर्दै इङ्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन्।
क्वार्टरफाइनल प्रवेशका लागि आज राति ८:४५ बजे मोरोक्को र स्पेन तथा राति १२:४५ बजे पोर्चुगल र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ। जित हासिल गर्ने दुवै टोलीले क्वार्टरफाइनलमा भिड्नेछन्।
पहिलो क्वार्टरफाइनल मंसीर २३ गते राति ८:४५ बजे क्रोएसिया र ब्राजिलबीच हुनेछ भने दोस्रो क्वार्टरफाइनल राति १२:४५ बजे नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच हुनेछ।
मंसीर २४ गते राति ८:४५ बजे तेस्रो क्वार्टरफाइनलमा आज राति हुने खेलका विजेता टोली भिड्नेछन्। त्यस्तै, चौथो क्वार्टरफाइनल मंसीर २४ गते राति १२:४५ बजे इङ्ल्यान्ड र फ्रान्सबीच हुनेछ।
पेनाल्टीमा भाग्यशाली क्रोएसिया क्वार्टरफाइनलमा
गोलकिपर डोमिनिक लिभाकोभिच नायक बनेपछि पेनाल्टी सुटआउटमा जापानलाई ३–१ ले पराजित गर्दै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
सोमबार कतारको अल जनौब रंगशालामा निर्धारित ९० मिनेट, इन्जुरी टाइम र अतिरिक्त समयमा क्रोएसिया र जापान १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
जहाँ क्रोएसियाका गोलकिपर लिभाकोभिचले जापानको तीन पेनाल्टी बचाउँदै आफ्नो टिमलाई विश्वकपको अन्तिम आठमा पुर्याए ।
लिभाकोभिचले जापानका टकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । पेनाल्टी प्रहारका लागि जापानबाट मिनामिनो पहिलो, मितामो दोस्रो र योसिदा चौथो खेलाडीको रूपमा आएका थिए । जापानका टकुमा असानो मात्रै पेनाल्टीमा गोल गर्न सफल भए ।
यता, क्रोएसियाका निकोला भ्लासिच, मार्सेलो ब्रोजोभिच र मारियो पासालिचले गोल गरे । क्रोएसियाका मार्को लिभाजाको प्रहार जापानका गोलकिपर सुइची गोन्डाले विफल बनाएपनि टिमको हार टार्न भने सकेनन् ।
जारी विश्वकपमा पेनाल्टी सुटआउटमा पुगेको पहिलो नकआउट खेल हो । त्यसअघि खेलको ४४ औँ मिनेटमा डाइजेन माईडाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा आक्रामक बनेको क्रोएसियाले ५५ औँ मिनेटमा बराबरी गोल गरेको थियो । इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए ।
त्यसपछि दुवै टिमले इन्जुरी टाइमबाहेक १२० मिनेटसम्म गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।जितसँगै क्रोएसियाले सेमिफाइनल प्रवेशका लागि आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ ।
जापान समूह ‘ई’ को विजेताको रूपमा अन्तिम–१६ मा आउँदा क्रोएसिया समूह ‘एफ’ को उपविजेताको रूपमा अन्तिम–१६ मा आएको थियो ।