प्रतिनिधिसभा समानुपातिकमा कांग्रेसले कटायो २७ लाख मत

काठमाडाैं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेपाली कांग्रेसले मतको संख्या २७ लाख कटाएको छ। प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको कांग्रेसले यो खबर तयार पार्दासम्म २७ लाख ४ हजार ४ सय २७ समानुपातिक मत ल्याएको हो।

प्रत्यक्षतर्फ पहिलो कांग्रेस समानुपातिक मतमा भने एमालेभन्दा पछि दोस्रो स्थानमा छ। निर्वाचन आयोगको तथ्यांकअनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ४४ सिट जितेको एमालेले समानुपातिक मत सबैभन्दा धेरै २८ लाख ३१ हजार २ सय ७६ ल्याएको छ।

एकल चिह्न गोलाकारभित्र हँसिया–हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी) ११ लाख ७० हजार २६२ मत प्राप्त गरेकाे छ । रवि लामिछानेले नेतृत्व गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म ११ लाख २७ हजार ११३ ल्याएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८७ हजार ८५५ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपालले ४ लाख २१ हजार ०५५ मत ल्याएकाे छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५९९ मत प्राप्त गरेर राष्ट्रिय दल बनेकाे छ ।

उल्लिखित ७ दलबाहेक अन्यले अहिलेसम्म थ्रेसहोल्ड (कूल सदर मतको ३ प्रतिशत) कटाएका छैनन्। थ्रेसहोल्ड नकटाएका दलले पाएका मत काम लाग्दैन अर्थात् खेर जान्छ।

मतदाताकाे सन्देश गठबन्धनलाई निरन्तरता देऊ: सत्तारूढ दल 

सत्तारूढ चार दलले गठबन्धनलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंसीर १९ गते बसेको चार दलको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सम्मिलित बैठकले सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको जनाइएको छ।

“मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ,” बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको नतीजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ।”

मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको नतीजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको चार दलको दाबी छ।

निर्वाचनका क्रममा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको शीर्ष नेताहरूको निष्कर्ष छ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सञ्‍चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब सत्ता गठबन्धनकै सरकार बन्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *