रवि लामिछानेको नागरिकताबारे प्रहरी अमेरिकी दूतावासको जवाफको पर्खाइमा !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेपाली नागरिकताबारे अनुसन्धान थालेको प्रहरी अमेरिकी दूतावासको पत्र पर्खिएर बसेको छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेविरुद्ध अमेरिकी नागरिकता नत्यागेको र नेपाल फर्किएपछि नेपाली नागरिकता पुन:प्राप्तिको प्रक्रियामै नगएर वैधता सकिएको नागरिकता बोकेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

सोही विषयमा जिल्ला प्रसाशन कार्यालय काठमाडौंले लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो । रविको नागरिकताबारे अनुसन्धान थालेको प्रहरीले सोमबारमात्रै नेपालस्थित अमेरिकी दूतावासलाई रविको अमेरिकी नागरिकताबारे बुझ्न पत्राचार गरेको छ ।

तर, दूतावासले प्रहरीको पत्रको जवाफ दिएको छैन । काठमाडौं प्रहरीले दूतावासबाट पत्र आएपछि थप अनुसन्धान बढ्ने जनाएको छ । काठमाडौं प्रहरीका एक अधिकारीले भने, ‘हामीले रविले अमेरिकी नागरिकता लिएको/नलिएको, त्याग गरेको/नगरेकोबारे बुझ्न पत्राचार गरेका छौँ । त्यो पत्र आएपछि थप अनुसन्धान बढ्छ ।’

परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले पनि रविको नागरिकताको विषय प्रक्रियामा गएको बताए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बाहिर हल्ला गरेजस्तो रविको नागरिकताको विषय त्यति सहज नभएको बताए ।

‘रविको नागरिकताको विषय मात्रै रहेन । उनले प्यान कार्डदेखि नेपाली राहदानीसमेत बनाएका छन् । उनको अवैध नागरिकताबाट राहदानी बनाएका हुन् भने राज्यले कसरी दियो ? यसबारे पनि प्रश्न उठ्छ ।

त्यसैले हामीले मिहीन ढंगले अनुसन्धान गर्दैछौँ । सरकारी वकिल कार्यालयसँग नियमित परामर्समै छौँ,’ ती अधिकारीले भने । अनुसन्धान गरे पनि मुद्दा चलाउने/नचलाउने अधिकारसमेत सरकारी वकिलको कार्यालयसँग छ ।

अमेरिकी पासपोर्ट त्यागेपछि रविले नेपाली नागरिकता लिने प्रक्रियामा त्रुटि गरेको आरोप उनीमाथि छ । लामिछानेले भने आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइरहेको दाबी गर्दै आएका छन् ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० (१) मा कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएमा नेपालको नागरिकता स्वतः खारेज हुने उल्लेख छ । ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन,’ नागरिकता ऐनमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *