नेपालीकाे गुलेली मट्याङ्ग्रा नै काफी, भारतले महाकाली नदीमा तटबन्धको काम रोक्ने !

काठमाडौं। महाकाली नदीमा भारतले एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धको काम रोक्ने सहमति भएको छ । बुधबार भारतको धार्चुलामा बसेको नेपाल–भारत सीमा समन्वय बैठकमा तटबन्धको काम रोक्ने सहमति भएको हो ।

भारतीय पक्षले निर्माणका लागि थुपारेका निर्माण सामग्रीहरु हटाउने साथै हालेका ग्याबिन निकाल्ने सहमति भएको छ ।यस्तै, प्राकृतिक रुपमा थुप्रिएका सामग्रीहरु हटाएर नेपालतर्फ भएर बगिरहेको पानीको बहावलाई बीच भागमा पार्ने गरी १० दिनभित्र काम गर्ने सहमतिसमेत भएको छ ।

नेपालकातर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी प्रमुख एसपी डम्बर विष्ट, नेपाल प्रहरीका प्रमुख डीएसपी तर्कराज पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

इलाम २ मा पुनः मतगणना माग

इलाम २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् ।

रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौं मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको उल्लेख छ ।

साथै, नेपाली कांग्रेसका प्रतिनिधि नराखी गणना गरिएको, कांग्रेसले मतगणना स्थगित गर्न निवेदन दिए पनि रातारात नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको छ ।

पारस खड्का र प्रियंका रानी जोशी नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर नियुक्त

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मिस नेपाल वल्र्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र एम्बेसडर नियुक्त खड्का र जोशीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्त ब्राण्ड एम्बेसडरद्वय मार्फत सम्पूर्ण नेपालीहरुका साथै विशेषत नयाँ पुस्तामा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रबन्ध निर्देशक पौडेलले यो सहकार्यको शुरुवात मात्र भएकाले भविष्यमा थप व्यावसायिक सहकार्य गर्न सकिने बताए । समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग पुन: आबद्ध हुन पाएकोमा गौरव लागेको बताए ।

यसैगरी प्रियंका रानी जोशीले आफूले पनि शुरुदेखि नै नेपाल टेलिकमको सेवा उपयोग गरिरहेको र नयाँ पुस्तालाई कम्पनीकै सेवा प्रयोग गर्न अभिप्रेरित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *