कांग्रेस संसदीय दलको नेता शेर बहादुर कि गगन थापा ? यस्ताे छ भित्रभित्रै राजनीतिकाे खेल !

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता बन्नका लागि भरमग्दुर प्रयत्नमा लागेका गगन थापाले सांसदहरुसँग छलफल र सम्पर्कलाई तीव्र पारेका छन् ।

गगन निकट कांग्रेस स्रोतका अनुसार, प्रत्यक्ष निर्वाचित सांसदमध्ये १६ जना डा. शेखर कोइराला र गगन थापा पक्षबाट निर्वाचित भएका छन् ।

२३ जनाले टिकट पाएका मध्ये १६ जना निर्वाचित भएका हुन् । ती मध्ये कतिजनाले थापालाई सहयोग गर्लान् ? भन्ने अहिलेसम्म यकिन भएको छैन । तर, तयारी भने तीव्र बनाएका छन् ।

कांग्रेस स्रोतका अनुसार, गगन थापाको पक्षमा यो समूहबाट बढीमा ९ जनाले सहयोग गर्ने संभावना रहेको छ । शेखर कोइराला र गगन थापाको पक्षमा रहे पनि शेखर कोइरालाको साथ नहुँदा तीमध्ये अधिकांशले अहिले नै गगन थापालाई साथ नदिने संकेत देखिएको छ ।

कोइरालाले थापालाई संसदीय दलको नेतामा सहयोग नगर्ने बताइसकेका छन् । औपचारिक रुपमा केही नबताए पनि युवा भनेर गगनमात्रै नभएको बताइएको छ ।

कोइरालाको साथ नपाउने बुझेर नै थापाले हस्ताक्षर अभियान र सडकमा आफ्नो पक्षमा माहोल बनाउन प्रदर्शन गराउने प्रयास पनि गगन थापाले गरेका छन् । यो प्रयासपछि उनीप्रति शेखर कोइराला थप रुष्ट भएको बताइएको छ ।

कोइरालाले अन्तिम समयमा शेरबहादुर देउवालाई साथ दिएर संसदीय दलमा देउवालाई निर्वाचित गराउन कोइराला नै सक्रिय हुन सक्ने पनि बताइएको छ । गगनको प्रयासलाई रोक्न अन्तिममा डा. शेख कोइराला र डा. शशांक कोइरालाले यस्तो रणनीति लिन सक्ने आंकलन गरिएको छ ।

गगन नउठेको अवस्थामा भने कोइराला संसदीय दलको नेतामा उम्मेदवार हुनसक्ने पनि बताइएको छ । देउवाइतर समूहको नेता शेखर कोइराला उम्मेदवार भएमा भने देउवाको विपक्षी टीम एक हुन सक्ने देखिएको छ । कांग्रेसबाट ८९ जना सांसद निर्वाचित भएका छन् ।

तीमध्ये ३२ जना समानुपातिकबाट आउन लागेका छन् । ती ३२ जनामा कोइराला र गगन थापा समूहका कतिजना सांसद निर्वाचित हुन्छन् ? भन्ने चाहिँ प्रष्ट छैन । तर, कम्तीमा पनि ६० जना सांसद देउवाको पक्षमा हुने आंकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *