विश्वकपको उपाधि जित्नेमा इंग्ल्यान्ड विश्वस्त छ : ह्यारी मग्वायर

काठमाडौं । इंग्ल्यान्डका रक्षक ह्यारी मग्वायरले सन् २०१८ को जस्तो नभई योपटक विश्वकप जित्न सक्नेमा इंग्लिस टिम विश्वस्त रहेको बताएका छन् ।

गारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्यान्ड रुसमा सम्पन्न २०१८ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । योपटक क्वार्टरफाइनलमा शनिबार साविक विजेता फ्रान्सविरुद्ध खेल्दै छ ।

फ्रान्सविरुद्ध जित निकाले इंग्ल्यान्डले फाइनल प्रवेशका लागि पोर्चुगल वा मोरोक्कोमध्ये एक टिमविरुद्ध खेल्नेछ । इंग्ल्यान्ड सन् १९६६ पछि विश्वकपको फाइनलमा पुग्न सकेको छैन ।

इंग्ल्यान्ड युरो २०२० को फाइनलमा पुगेको थियो । मग्वायरले यसले पनि टिमको मानसिकतामा सकारात्मक प्रभाव पारेको बताए ।

“२०१८ को टिम र अहिलेको टिममा निकै फरक छ । हामी विश्वकपको उपाधि जित्न सक्छौँ भन्नेमा विश्वस्त छौँ । हामी २०१८ को विश्वकपमा सेमिफाइनल पुगेका थियौँ । जसले धेरै समर्थकहरूलाई खुसी बनाएको थियो । सेमिफाइनलमा हारका बाबजुद हामीले हिरोको दर्जा पाएका थियौँ । र, यसपटक हामीमा यो विश्वकप जित्नुपर्छ भन्ने दृढ अठोट छ,”

मग्वायर भन्छन्, “पक्कै पनि हामीलाई थाहा छ, यो निकै कठिन हुनेछ । सायद अहिले पाँचदेखि ६ टिमले हाम्रोजस्तै बलियो मानसिकतासाथ विश्वकपको उपाधिलाई लक्ष्य बनाएका छन् ।”

म्यानचेस्टर युनाइटेडमा पहिलो रोजाइमा पर्न संघर्षरत रहे पनि २९ वर्षीय मग्वायर विश्वकपमा इंग्ल्यान्डबाट सबै खेलका पहिलो रोजाइमा नै मैदानमा उत्रिएका छन् ।

प्रशिक्षक साउथगेटको भरोसा कायम राखेका मग्वायरले जति नै आलोचना भए पनि आफ्नो आत्मविश्वास कहिल्यै नडगमगाएको बताए ।

“म २९ वर्षको भएँ र म्यानचेस्टर युनाइटेडको कप्तान हुँ । मैले मेरो देशबाट ५२ अन्तर्राष्ट्रिय खेल खेलिसकेँ । गत वर्ष मेरो राम्रो हुन सकेन । म जसरी पछिल्लो पाँच वर्षदेखि शीर्षस्तरको फुटबल खेल्दै थिएँ, गत वर्ष भने त्यसअनुरूपको प्रदर्शन हुन सकेन,”

मग्वायर भन्छन्, “तर, मलाई लाग्छ, फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी मात्र यस्ता खेलाडी हुन्, जसले कहिल्यै खराब स्थितिको सामना गर्नुपरेको छैन । सायद मेरो अर्को वर्ष पनि आशाअनुरूपको हुन नसक्ला, तर सबै कुरा पुनरागमन गर्न सकिन्छ कि सकिन्न्न भन्ने कुरामा भर पर्छ । र, यसका लागि म फुटबलमै केन्द्रित र पूर्ण आत्मविश्वासी छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *