जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा बस्छ : विष्णु पौडेल

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनादेशको सम्मान गर्दै नेकपा एमाले प्रतिपक्षमा बस्ने बताएका छन्।

सम्पन्न निर्वाचनमा एमालेले बहुमत प्राप्त गर्ने अपेक्षा गरिएको भए पनि सत्तामा रहेका दलहरुले गठबन्धन गरेका कारण अपेक्षा अनुसार निर्वाचनको परिणाम हासिल गर्न नसकेकोले जनादेशको सम्मान गर्दै प्रतिपक्षमा बस्ने बताएका हुन्।

शुक्रबार बुटवलमा पत्रकारहरुसँग संक्षिप्त रूपमा बोल्दै पौडेलले निर्वाचनको जनादेश एमाले सरकारमा जान नभई प्रतिपक्षमा बस्ने रहेको बताएका हुन्।

‘निर्वाचनले दिएको जनादेशको सम्मान गर्दै एमाले प्रतिपक्षमा रहेर आफ्नो सशक्त भूमिका निर्वाह गर्छ, गठबन्धनमा रहेका दलहरूसँग टुक्राटाक्री जोडेर भए पनि उहाँहरूले सरकार बनाउनुहुन्छ,’ उनले भने।

पूर्व-अर्थमन्त्री समेत रहेका नेता पौडेलले एमालेका विरूद्ध सत्तामा रहेका दलहरूले गठबन्धन गरी एमालेलाई किनारमा पार्न खोजे पनि समानुपातिक मतमा सबभन्दा धेरै मतका साथ एमाले दोस्रो ठूलो दल बन्न पुगेको बताए।

नेता पौडेलले निर्वाचनबाट केही नयाँ दलहरूको उदय भए पनि भविष्यमा उनीहरू गर्ने कामबाट जनताले मूल्यांकन गर्ने बताए।

वामपन्थी दलहरूसँग मिलेर सरकार बनाउन सम्भव छ भन्ने पत्रकारहरूको जिज्ञासामा पौडेलले भने,‘एमालेबाहेक अर्को कुन वामपन्थी पार्टी छ र सहकार्य गर्ने?’

पौडेलले एमालेबाहेक अर्को कुनै दल वामपन्थी नभएको र वामपन्थी बीच सहकार्य गर्ने भन्ने कुनै प्रश्न नभएको बताए।

नेता पौडेलले एमाले प्रतिपक्षमा रहेर आफ्नो नेतृत्वमा अगाडि बढाएका विकास निर्माण आयोजना पूरा गर्न भूमिका खेल्ने दोहोर्‍याए।

पौडेलले विगतदेखि नै भन्दै आएको रूपन्देहीलाई पूर्वाधार तथा हरेक क्षेत्रको विकास निर्माणका हिसाबले मुलुककै उत्कृष्ट जिल्ला बनाउने कुरा यसपटक पनि दोहोर्‍याए।

हालै लुम्बिनी प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू बुटवलबाट दाङमा लागेकोप्रति टिप्पणी गर्दै पौडेलले बुटवलमा रहेका मन्त्रालयहरू दाङमा पनि अस्थायी संरचनामै लैजानु गलत कार्य भएको बताए।

यसअघिकै प्रदेश सभाले राजधानीको गुरूयोजना तयार गरी स्थायी संरचना तयार भएपछि प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा लैजाने घोषणा गरेको भए पनि अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायतका संरचनाहरू रातारात अस्थायी संरचनामै लैजाने काम गलत भएको पौडेलको भनाइ छ।

उनले यसअघिको प्रदेश सरकार र प्रदेश सभाले गरेको निर्णयविपरीत र विधि प्रक्रिया मिचेर अहिलेको प्रदेश सरकारले मध्यरातमा मन्त्रालय सारेको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *