कोटेश्वरबाट सातदोबाटो आउने-जाने मुख्य बाटो परिवर्तन, अब कुन रुट प्रयोग गर्ने ?

काठमाडौं । मंसिर २३ गते शुक्रबारदेखि कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन हुने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुरको ग्वार्को चोकमा फ्लाइ अ‍ेभर विथ अप्रोच रोड निर्माण हुन लागेकाले शुक्रबार बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने आउने मुख्य बाटो परिवर्तन हुने जानकारी दिएको हो ।

शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्र्याकबाट संञ्चालन गरिने बताएको छ ।

यस्तै, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्रयाकबाट संञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।कार्यालय सबै चालकहरुलाई तोकिएका बाटोबाट यात्रा गर्नु अनुरोध गरेको छ ।

५२ वर्षपछि लालपुर्जा

कपिलवस्तुको शिवराज नगरपालिका–२ का बासिन्दाले ५२ वर्षपछि लालपुर्जा पाएका छन । शिवराज–२ का मदरहवा, ओझवा, बालापुर, हरहटीका एक सय ४८ जनाले डिहब्लक लालपुर्जा पाएको नगरपालिकाका प्रमुख अजय थापाले बताए ।

नापी कार्यालय तौलिहवा कपिलवस्तुले विसं २०२७ मा नापी गर्दा छुट भएका डिहब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगरप्रमुख थापाले बताए ।

साविकको भागवानपुर गाउँ विकास समितिअन्तर्गत सातवटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ वर्षपछि १४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारूले जानकारी दिइन् । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको उपप्रमुख थारूले बताइन् ।

नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर चौधरीले बताए । “सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौँ”, उनले भने ।

पुर्जा पाएपछि स्थानीय खुसी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिन, धितो राख्न, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट बञ्चित हुँदै आएका थिए ।

नगरपालिकाले विसं २०७८ को चैत २३ गते १८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको थियो । नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरेको जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख सुवास न्यौपानेले जानकारी दिए ।

कपिलवस्तुमा विसं २०२६ देखि सुरु भएको गाउँ ब्लक जग्गा विसं २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साविक ८१ गाविसमा एक हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *