पूर्वमिस नेपाल शृंखलाले पनि गरिन् मेयर बालेन अभियानको विरोध

काठमाडाैं । पूर्वमिस नेपाल शृंखला खतिवडाले पनि काठमाडौँ महानगरमा फुटपाथ व्यवसायीलाई लखेट्ने स्थानीय सरकारको अभियानको विरोध गरेकी छन्।

बालेन्द्र शाह मेयर बनेयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्र खाली गर्ने अभियानै सञ्चालन गरिरहेको छ।

यस क्रममा महानगरपालिकाले फुटपाथमा वर्षाैँदेखि व्यवसाय गरिरहेकाहरूलाई प्रहरी लगाएर हटाइरहेको छ। त्यससम्बन्धी एउटा भिडिओ पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो ट्विटरमा सेयर गर्दै विरोध गरेका छन्।

त्यसैमा कमेन्ट लेख्दै पूर्वमिस नेपाल खतिवडाले पनि बिनाविकल्प फुटपाथ व्यवसायीलाई विस्थापन गर्नु गलत भएको बताएकी हुन्।

‘के हामीलाई सहरको ‘सुन्दरता’ त्यति धेरै प्यारो भयो कि ठेलाको व्यापार पनि देख्न सकेनौँ? भोलि त्यै ठेला नआउँदा तरकारी कहाँ किन्छौँ’, पूर्वमिस नेपाल खतिवडाले भनेकी छन्, ‘अनौपचारिक क्षेत्रबिना अहिले नै सहर चल्न सक्दैन। कि त ठाउँ दिनुपर्‍यो, यस्तो ज्यादतीले केही समाधान हुँदैन है।’

सबै मानिससँग भाडा तिरेर व्यापार गर्ने क्षमता हुन नसक्ने उनले उल्लेख गरेकी छन्। ‘दोष ठेलाको कि हाम्रो सिस्टमको त’, शृंखलाले आक्रोश पोखेकी छन्, ‘के भोलि नै सहरभरि औपचारिक भाडा र कर तिर्न सक्ने तरकारी पसल खोल्न सक्छौँ हामी?’

महानगरले गर्‍याे एकैदिन ५० सार्वजनिक स्थल सफाइ, १४७ मेट्रिक टन फोहोर संकलन

२८औँ महानगर दिवसको अवसरमा काठमाडौंका ५० खुला र सार्वजनिक स्थलको सरसफाइ गरिएको छ । टेकु दोभान छेउमा रहेको चिन्तामणि पार्कबाट सरसफाइ सुरु गरिएको हो ।

महानगरका जनप्रतिनिधि, कर्मचारी, सरसफाइमा क्रियाशील संघ संस्थाका प्रतिनिधिले पार्क, सडक, चोक, गल्ली, मठमन्दिरलगायत क्षेत्रको सफाइ गरेको महानगरले जनाएको छ ।

सफाइबाट महानगरपालिकाले १७ मेट्रिक टन र निजी क्षेत्रबाट १०० मेट्रिक टन फोहोर संकलन भएको वातावरण तथा कृषि विभागका सहायक निर्देशक सानुमैया महर्जनले जानकारी दिइन् । ब्रुमरले ३० मेट्रिक टन धुलो संकलन गरेको महर्जनले बताइन् ।

वातावरण विभागले फोहोर संकलनका लागि सवारी, धुलो सफाइका लागि ब्रुमर र भुइँ सफा गर्न जेट मेसिन प्रयाेग गरेको थियो । जेट मेसिनले पचली, कंकेश्वरी, मखन महादेव र मच्छिन्द्रबहालका मन्दिर र भुइँमा पानी हालेर सफा गरेको थियो । चार फरक क्षेत्रमा ब्रुमरकाे प्रयोग गरेर धुलो उठाइएकाे थियो ।

स्वयम्भू, कालीमाटी, कलंकी, असन, इन्द्रचोक, माइतीघर मण्डल, कोटेश्वर, गौशाला, चावहिल, महाराजगंज, बालाजु, सामाखुशी, हिटी पोखरी, लाजिम्पाट, त्रिपुरेश्वरलगायत क्षेत्रको सरसफाइ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *