काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका सांसदहरुको छनोट गरेको छ। समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त रास्वपाले १३ जना सांसद पाएको छ।
सो पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रहेका नाममध्येबाट क्लस्टर मिलाएर ती १३ जना सांसदको छनोट गरेको हो।
जसमा डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल निशा डाँगी र विनिता कठायत चुनिएका छन्। त्यस्तै शिव नेपाली, सन्तोष परियार, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम शाह छनोट भएका छन्।
राप्रपामा समानुपातिकतर्फ जबरा ‘फाइनल’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रतिनिधिसभाको समानुपातिकतर्फ पुरुषमा नेता पशुपतिशमशेर जबराको नाम टुंगो लगाइएको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पहिलो पुरुषमा जबराको नाम टुंगो लगाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ दोस्रो पुरुषको नामका विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्रलाई लिङ्देनले दिइएको उनले बताए ।
राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट सात सिट जितेको छ । त्यसमध्ये पाँच महिला सांसद हुनेछन् ।