कांग्रेसको ३२ समानुपातिक सांसदमा नेताका श्रीमती पनि

काठमाडौं । नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुङ्गो लगाएको छ । ३२ जनामध्ये २९ जना महिला उम्मेदवारको नाम छनोटमा परेका छन् । छनोटमा परेकामध्ये आरजु राणा प्रधानमन्त्री शेरबहादुर देउवा र मञ्जु खाण गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन् ।

कांग्रेसले खस आर्यबाट डा. प्रकाशशरण महत, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई छानेको छ ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ ।

दलितबाट जीवन परियार, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । मधेशीमा विमलेन्द्र निधि, नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् ।

यस्तै, मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छानिएका छन् ।

३३ प्रतिशत महिला हुनुपर्ने प्रावधानका कारण पुरुषतर्फबाट विमलेन्द्र निधि, जीवन परियार र डा. प्रकाशशरण महत मात्रै सांसद बन्ने भएका छन् भने आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ आउट भएका छन् ।

चुनाव जित्नु ठूलो कुरा होइन, प्रतिबद्धता पूरा गर्नु मूख्य कुरा हो : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले जनतासामु चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष नेपालले चुनाव जित्नु मात्र ठूलो कुरा नभएकाले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नु मूख्य कुरा भएको बताएका हुन् ।

जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न समेत उनले जनप्रतिनिधिलाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले विगतमा जनतालाई पूरा हुन नसक्ने आश्वासनहरु दिइएको बताउँदै अब धेरै आश्वासन दिँदा पनि गाह्रो हुने बताए ।

उनले जनताका असीमित आकांक्षालाई पूरा गर्न नसके पनि गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिश गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे । त्यस्तै अध्यक्ष नेपालले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

उनले देशको अर्थतन्त्र सुधार गर्न र राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिन समीक्षा गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *