रोल्पाका दुई महिला एमालेको समानुपातिक सांसद

रोल्पा । नेकपा एमालेको समानुपातिक सांसदको रुपमा रोल्पाबाट दुई जना छनौटमा परेका छन् । शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ ।

घर्तीमगर आदिवासी जनजाति महिला तर्फ चौथो नम्बरमा छनौट भएकी हुन् । घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेले रोल्पाकी यमुना रोक्का तामाङलाई छनौट गरेको छ । रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट भएकी हुन् ।

नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेकी रोक्का तामाङ नेकपा माओवादी केन्द्रवाट नेकपा एमालेमा आएकी हुन । रोक्का तामाङ रोल्पाको थवाङ निवासी हुन् ।

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

निर्वाचन आयोगले मंसिर २६ गते (सोमबार) सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ ।

राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५÷५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने स्पष्ट पारेको छ ।

आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले ७ दिनभित्र राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन बुझाइ सक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *