छनोट भएका समानुपातिक सांसदको हकमा अबको प्रक्रिया के हुन्छ ?

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक मतगणना सम्पन्न गरेपछि समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न दलहरूलाई बिहीबार तीन दिनको समय प्रदान गरेको थियो ।

शनिबारसम्म सबै दलले समानुपातिकतर्फको उम्मेदवार निर्वाचित गर्न नामावली बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगले आज उक्त नामावली उपर जाँच गर्ने, सबै क्लष्टर तथा महिलाको सङ्ख्या पुगेरनपुगेको सम्बन्धमा हेर्ने पौडेलले बताए । दलहरूको समानुपातिक सूची केन्द्र र प्रदेश गरी आठ ठाउँमा छ ।

आयोगले आवश्यक जाँच र दलहरूको तयारीअनुसार सबै कार्य सम्पन्न गरी सम्भवत: सोमबार समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने जनाएको छ ।

यी सबै प्रक्रिया सम्पन्न गरी यही मङ्सिर अन्तिमसम्ममा प्रतिनिधिसभाको राष्ट्रपतिलाई र प्रदेशमा सम्बन्धित प्रदेश प्रमुखलाई निर्वाचनको विवरण बुझाउने आयोगको लक्ष्य रहेको प्रवक्ता पौडेलले बताए । त्यसपछि नयाँ सरकार गठन र नयाँ संसद् बैठकको तयारी प्रारम्भ हुनेछ ।

रोल्पाबाट ३३ वर्षीया ईश्वरी जीएम बनिन् एमालेकी सांसद

माओवादीको आधार इलाका मानिने रोल्पाबाट ३३ वर्षीया ईश्वरी जीएम एमालेका तर्फबाट समानुपातिक सांसद भएकी छन्। पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनी सबैभन्दा कान्छी केन्द्रीय सदस्य र रोल्पा जिल्ला सह-ईन्चार्ज पनि हुन्।

एमाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नयाँ पुस्ताबाट उनी संसद प्रवेश गर्दैछिन्। जीएमलाई आदिवासी जनजाति महिला कोटाको चौथौ नम्बरमा राखिएको थियो।

०४६ साल फागुनमा रोल्पाको नुवागाउँमा जन्मिएकी उनी माओवादी जनयुद्ध उत्कर्षमा रहेकै समयमा ०६२ देखि अनेरास्ववियु र एमालेको राजनीतिमा लागेकी थिइन्।

माओवादीले ‘आधार इलाका’ मान्दै आएको रोल्पाकी उनी एमालेको दशौँ महाधिवेशनबाट ३२ वर्षको उमेरमा केन्द्रीय सदस्य भएकी थिइन्।

तर माओवादी शान्ति प्रक्रिया आएसँगै उनी विद्यार्थी राजनीतिबाट समय पत्रकारितामा लागेकी थिइन्। उनी प्रेस चौतारी रोल्पा शाखाकी अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पाकी सचिव पनि भइन्र। उनले एमालेको राजनीतिमा लागेसँगै पत्रकारितालाई विश्राम दिएकी थिइन्।

उनी एमाले जिल्ला कमिटी रोल्पाको दुई कार्यकाल सदस्य भइसकेकी छन्। उनले लुम्बिनी प्रदेश संगठन कमिटी सदस्य भएर पनि एमालेमा आफूलाई स्थापित गरिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *