सरकारले ल्याएको रेशम छुटाउने अध्यादेशबारे के भन्छन् कांग्रेस महामन्त्री गगन थापा ?

काठमाडौं। जेलजीवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि मुख खोलेका छन् ।

उनले अर्का महामन्त्री विश्वप्रकाश शर्माको धारणाप्रति समर्थन जनाउँदै अध्यादेशको कडा शब्दमा विरोध गरेका छन् । विश्वप्रकाश शर्माको धारणा पार्टीकै आधिकारिक भएको दाबी गर्दै महामन्त्रीथापाले सरकारले गरेको गलत कामको भारी पार्टीले नबोक्ने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै गगनले भनेका छन्–

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणा शत प्रतिशत सही छ । यो मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन नेपाली कांग्रेस पार्टीकै धारणा हो, मान्यता हो । किनकी विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ ।

अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही नै छ । अत: सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न सक्दैन।यो अध्यादेशको सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ:

– अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसावले समेत गलत छ । यो असंवैधानिक र अलोकतान्त्रिक र संसदीय व्यवस्थाको मर्म विपरित छ ।

– अहिलेको सरकार कामचलाउ हो, यसले दुरगामी महत्वको निर्णय गर्न मिल्दैन। अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन। यसको विषय र मनसाय गलत छ ।

– अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर आवश्यकता देखे नयाँ संसदले कानून बनाएर प्रक्रिया अगाडी वढाउन सक्छ ।

– अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यसैले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *