विश्वकपका अबका खेल निःशुल्क हेर्न पाइने

काठमाडाैं । विश्वकप फुटवल अबको खेल निःशुल्क हेर्न पाइने भएको छ। विश्वकप फुटबल २०२२ को अब तीनवटा खेल मात्र बाँकी छन्।

दुई सेमिफाइनल र फाइनल खेल विश्व फुटबल महासंघ (फिफा)को नीतिअनुसार नेपालमा पनि निःशुल्क देखाइन लागेको हो।

विश्वकप २०२२ का खेल हेर्न नेपालमा ५ सय ६५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको थियो। तर फिफा को नियमअनुसार नै उद्घाटन खेल र अन्तिम ३ खेल निःशुल्क देखाउनुपर्ने अवस्था छ। सोहीअनुसार अब अतिरिक्त शुल्क नतिरेकाले पनि विश्वकप फुटबल हेर्न पाउने भएका हुन्।

नेपालका लागि प्रसारण अधिकार मिडिया हबले पाएको छ। जसले हिमालयन टेलिभिजनको सहयोगमा विश्वकप देखाइरहेको छ। अबको खेल सित्तैमा हिमालय एचडी टीभीबाटै हेर्न पाइने जानकारी मिडियाहबले दिएको छ।

यसअघि हिमालयन प्रिमियम नामक नयाँ नेटवर्क तयार गरिएको थियो। यस नेटवर्कबाट पनि आउने र हिमालयन टेलिभिजनको नियमित प्रसारणबाट समेत अबको खेल प्रसारण हुने मिडियाहबको भनाइ छ।

विश्वकपको सेमिफाइनल र फाइनल खेलमा एडिडासको ‘अल हिल्म’ बल प्रयोग हुने

कतार विश्वकप २०२२ को सेमिफाइनल र फाइनल खेलमा एडिडासको अल हिल्म बल प्रयोग हुने भएको छ। अल हिल्म भनेको अरबी भाषामा सपना हो।

एडिडासले विश्वकपका सेमिफाइनल र फाइनल खेलका लागि अल हिल्म बल सार्वजनिक गरेको हो। यो बल वातावरणमैत्री छ जुन पानीमा आधारित मसी र गमबाट बनेको छ।

यो बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ। यसमा सुक्ष्म त्रिकोणीय ढाँचा र दोहा शहर वरपरको चम्किलो क्षेत्रको मरभुमी र कतारको झण्डाको आकार छ।

विश्वकपमा यसअघि अल रिहला बल प्रयोग हुँदै आएको थियो। अब अल रिहला बल प्रयोग नहुने फिफाले जनाएको छ। अल रिहलाको अर्थ यात्रा भन्ने थियो।

यो बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ। यसले रेफ्रीहरुलाई निर्णय लिन सहयोग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *