सुनको मूल्य प्रतितोला रु एक लाख

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

दुई दशकपछि खाल्सामा कालोपत्र

शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो ।

खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गरेका थिए । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो ।

मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो ।

सन् २०२१ सेप्टेम्बर २२ बाट सुरु भई सन् २०२३ मार्च २२ मा सम्पन्न हुने गरी ठेक्का पाएको रायमाझी आजद जेभी प्रालि काठमाडौँका प्रमुख प्रेम मगरले ७० प्रतिशत सडकको काम पूरा भएको जानकारी दिए ।

यस सडकले सहिदभूमि गाउँपालिकालाई अरुण, तमोर र दूधकोसी नदीको सङ्गममा रहेको त्रिवेणीमा अवस्थित भोजपुर, खोटाङ, उदयपुर र सुनसरी जिल्लासँग जोड्ने छ । यस सडकको निर्माण पूरा भएपछि गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए ।

सुनसरी र भोजपुर जिल्लासँग प्रत्यक्ष पहुँच राख्न सहयोग राख्ने यस सडकले गाउँपालिका क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लान विशेष सहयोग पुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *