विश्वकपको पहिलो सेमिफाइनल आजः अर्जेटिना र क्रोएसिया भिड्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया आमनेसामने हुँदैछन् ।

उपाधिका दाबेदार मानिएका यी दुई टिमले राति १२ : ४५ बजे दोहाको लुसेल रंगशालामा फाइनल पुग्ने योजनाका साथ खेल्नेछन् । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

यसअघि दुईपटक विश्व विजेता बनिसकेको अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा छ ।

क्रोएसिया यसअघिको विश्वकपको उपविजेता हो । क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

विश्वकपको सेमिफाइनल र फाइनल खेलमा एडिडासको ‘अल हिल्म’ बल प्रयोग हुने

कतार विश्वकप २०२२ को सेमिफाइनल र फाइनल खेलमा एडिडासको अल हिल्म बल प्रयोग हुने भएको छ। अल हिल्म भनेको अरबी भाषामा सपना हो।

एडिडासले विश्वकपका सेमिफाइनल र फाइनल खेलका लागि अल हिल्म बल सार्वजनिक गरेको हो। यो बल वातावरणमैत्री छ जुन पानीमा आधारित मसी र गमबाट बनेको छ।

यो बलको डिजाइनमा सुनौलो रंग प्रयोग गरिएको छ। यसमा सुक्ष्म त्रिकोणीय ढाँचा र दोहा शहर वरपरको चम्किलो क्षेत्रको मरभुमी र कतारको झण्डाको आकार छ।

विश्वकपमा यसअघि अल रिहला बल प्रयोग हुँदै आएको थियो। अब अल रिहला बल प्रयोग नहुने फिफाले जनाएको छ। अल रिहलाको अर्थ यात्रा भन्ने थियो। यो बलमा पनि कनेक्टेड बल टेक्नोलोजीको प्रयोग गरिएको छ। यसले रेफ्रीहरुलाई निर्णय लिन सहयोग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *