म छिट्टै प्रधानमन्त्री बन्दैछु : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘तपाईंहरुको आशिर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’

पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेश, पहाड, हिमाललाई एकावद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाएका उनले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘यो पटक देशको नेतृत्व गर्ने अवसर पाउँदा केही अविश्मरणीय विकासका योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

नयाँ दलहरुको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको उनले बताए । प्रचण्डले भनेका छन्, ‘गम्भीर समीक्षासहित सुशासन, विकास र समृद्धिको दृष्टिले यो अभियान सुरु गर्न सकेनौं भने आउने दिन चुनौतीपूर्ण हुनेछ ।’

लोसपाले खोज्यो केन्द्रदेखि प्रदेशसम्म हिस्सा : गठबन्धनलाई दुई सिटको कमी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको बैठकमा आफूलाई पनि सहभागी गराउन आग्रह गरेको छ । मंगलबार साँझ पार्टी अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बैठकमा सहभागी गराउन अनुरोध गरेका हुन् ।

लोसपा नेता डा. सुरेन्द्र झाका अनुसार ठाकुरले प्रधानमन्त्री देउवासँग पटक–पटक भेटेर संवाद गरेका छन् । “मंगलबार भेट भएको हो । उहाँहरूबीच निरन्तर भेट र संवाद भइरहेका छन्,” उनले भने, “चुनावअघि अध्यक्षज्यू बाहिर हुनुहुन्थ्यो । चुनाव सकिएपछि हामी गठबन्धनको बैठकमा निरन्तर सहभागी हुने कुरा उहाँले उठाउनुभएको छ ।”

लोसपा नेता तथा नवनिर्वाचित सांसद शरतसिंह भण्डारी गठबन्धन दलभित्र हुने नीतिगत बहस र निर्णयमा लोसपा सहभागी हुनुपर्ने बताउँछन् । अब बन्ने केन्द्र र प्रदेश सरकार तथा मन्त्रालयको बाँडफाँटका साथै राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्मको भागबन्डामा लोसपालाई समेट्नुपर्ने उनको माग छ ।

“अब बन्ने सरकारमा मन्त्रालयको भागबन्डासहित, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा, प्रदेश सरकार तथा प्रदेश प्रमुखहरू यी सबै विषयमा हुने नीतिगत निर्णयमा हाम्रो सहभागिता रहनुपर्छ,” भण्डारीले भने,

“हामी गठबन्धनभित्रको एक दल हौँ । चुनाव लडेको मात्र होइन, चुनावअघि पनि यो गठबन्धनको सरकारलाई हाम्रो समर्थन थियो । सोही कारण गठबन्धनको बैठकमा हुने नीतिगत छलफलमा हामीले भाग लिने वातावरण बनाउन पार्टी अध्यक्षज्यूलाई हामीले अनुरोध गरेका छौँ ।”

लोसपाले सत्ता गठबन्धनसँग मिलेर निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । प्रतिनिधिसभातर्फ सात र प्रदेशतर्फ १६ सिटमा गठबन्धन दलसँग मिलेर लोसपाले चुनाव लडेको थियो ।

केही दिनअघि लोसपाबाट निर्वाचित चार केन्द्रीय सांसदसहितको बैठकले पनि सत्तासहित अरू विभिन्न निकायमा ‘प्याकेज’मा हुने भागबन्डामा पार्टीको सहभागिता अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

मधेस प्रदेश सरकारको नेतृत्व वा ‘जिम्मेवार’ मन्त्रालयसहित सातमध्ये एक प्रदेशमा प्रमुख, केन्द्रीय मन्त्रालय र विभिन्न आयोगमा सम्मानजनक सहभागिताको विषयमा लोसपा शीर्ष नेतृत्वले छलफल गरेका थिए ।

“हामीले शीर्ष तहमा छलफल गरेरै सत्ता गठबन्धनको बैठकमा सहभागिता, निर्णयमा हाम्रो हस्ताक्षरसहितको वातावरण मिलाउन देउवाजी, प्रचण्डजी र नेपालजीलगायत नेतासँग छलफल गर्न हाम्रा अध्यक्ष महन्थ ठाकुरज्यूलाई सबै अधिकार दिएका छौँ,” उनले भने ।

गठबन्धनसहित निर्वाचनमा प्रतिस्पर्धा गरे पनि लोसपा राष्ट्रिय दल बन्न सकेन । आफ्नै पूर्वसहकर्मी महिन्द्रराय यादवसँग वरिष्ठ नेता राजेन्द्र महतो पराजित भए । प्रतिनिधिसभातर्फ लोसपाले चार सिट मात्र जित्यो ।

लोसपा आए पनि पाँचदलीय गठबन्धनलाई सरकार बनाउन बहुमत पुग्दैन । संविधानानुसार बहुमतको सरकार बनाउन १३८ सिट आवश्यक पर्छ । लोसपा आउँदा पनि गठबन्धनलाई बहुमत पुर्‍याउन दुई सिट कम हुन्छ ।

लोसपाका एक नेता मधेसमा पार्टी राजनीतिलाई जोगाउन पनि अहिलेको गठबन्धनभन्दा बाहिर बस्ने अवस्था नरहेको बताउँछन् । राष्ट्रिय दल बन्न नसक्नु र निरन्तर जनाधार गुम्दै गएकाले लोसपालाई अहिले सत्ता अपरिहार्य भएको उनको तर्क छ ।

“जितेका चारमध्ये एक वा बढीमा दुई नेता मन्त्री बन्नैपर्‍यो । अनि, सात प्रदेशमध्ये हामीले एउटा प्रदेशमा मुख्यमन्त्री मागेका छौँ । प्रदेश प्रमुख पनि हाम्रो माग छ,” ती नेताले भने, “सत्तामा नगई त कसरी पार्टी सफल हुन्छ र, राजनीति गर्नुको अधिकतम उद्देश्य त सत्ता नै हो नि !”

नेता भण्डारी पनि अहिलेकै गठबन्धन र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । लोसपा नयाँ सरकारमा सहभागी हुने उनको भनाइ छ ।

वर्तमान गठबन्धनको सरकार बन्दा नै विश्वासको मत दिएको भन्दै उनी यो गठबन्धनले आफूहरूका माग, मुद्दा पनि सम्बोधन गरिरहेको जिकिर गर्छन् ।

“विगतमा गठबन्धनको सरकार बन्ने बेलैमा प्रधानमन्त्रीले माग सम्बोधन गर्छु भनेपछि विश्वासको मत हामीले दिएको हो,” उनले भने, “हामी गठबन्धन भएको नाताले माग, मुद्दा अघि बढ्छ । अहिले अध्यादेश पनि त्यसैको उपज हो ।

यो अध्यादेशले पनि हाम्रो माग, मुद्दालाई धेरै सम्बोधन गर्छ । रेशम चौधरीलगायत मधेस, थरुहट आन्दोलनमा लगाइएको झुटा मुद्दा फिर्ता र राजबन्दीलाई छोड्ने काम हुन्छ । यसले हाम्रो सरकारमा सहभागी सुनिश्चित भएको देखाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *