काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसदमा निशा डाँगी निर्वाचित भएकी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डाँगी २५ वर्षकी मात्रै हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पुगेको हुनुपर्ने व्यवस्था अनुसार उनी २५ वर्षकी मात्रै रहेकी छन् ।
दोस्रोमा सबैभन्दा कम उमेरकी सांसद पनि रास्वपाकै २६ वर्षकी विनीता कठायत छिन् । उनी पनि समानुपातिक प्रणालीबाट निर्वाचित भएकी हुन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट पनि रास्वपाबाटै काठमाडौं क्षेत्र नम्बर २ मा २७ वर्षकी सोबिता गौतम निर्वाचित भएकी थिइन ।
रास्वपाले पेश गरेको बन्दसूचीमा खस आर्यबाट गणेश कार्कीको नाम दोस्रोमा भए पनि चलखेल गरेर डाँगीको नाम सिफारिस गरेको भन्दै रास्वपाकै कार्कीले सामाजिक सञ्जालमार्फत विरोध जनाएका थिए ।
यस्तै दलित महिला समूहको पहिलो नम्बरमा रहेकी कल्पना रोक्काले पनि आफूलाई सिफारिस नगरेर पार्टीले दलित समूहबाट दुवै जना पुरुष सिफारिस गरेको भन्दै विरोध गरेकी थिइन ।
मंसिर ४ को निर्वाचनबाट इतिहासकै अस्थिर अवस्था सिर्जना हुनेभयो : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि एमालेले देशमा राजनीतिक स्थायित्व र स्थिरता चाहे पनि वर्तमान जनादेशले मुलुकमा इतिहासमै सबैभन्दा अस्थिर अवस्था सिर्जना गरेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा आज बुधबार आयोजित पार्टीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधिहरूको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनमा एमालेले देश बनाउन स्पष्ट नीति,
दृष्टिकोणका साथ आफूलाई बहुमत मागेको भए पनि बहुमत प्राप्त गर्ने गरी जनतालाई सचेत गराउन नसकेका कारण मुलुकमा अस्थिरता सृजना हुने खतरा रहेको औंल्याएका हुन् ।
उनले गाउँपालिकामा निर्वाचित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरूलाई विकास अभियन्ताका रूपमा काम गर्न निर्देशन दिएका छन् ।
आर्थिक काममा पारदर्शी र स्वच्छतालाई विशेष रुपमा ध्यान दिन आग्रह गर्दै ओलीले जनताका काममा नमूना र आदर्श जनप्रतिनिधिका रूपमा काम गर्न निर्देशन समेत दिएका छन् ।
‘शालिनतापूर्वक जनताको सेवक भएर काम गर्नूस् । काम गर्दा सामुहिक तरिका अपनाउनूस् । पार्टीसँग निरन्तर समन्वयमा काम गर्नूस्,’ अध्यक्ष ओलीले भने ।