नासाले अन्तरिक्षमा पठाएको ‘ओरायन’ यान ऐतिहासिक उपलब्धि हासिल गर्दै पृथ्वीमा अवतरण

काठमाडाैं । नासाले अन्तरिक्षमा पठाएको ‘ओरायन’ यान ऐतिहासिक उपलब्धि हासिल गर्दै पृथ्वीमा अवतरण गरेको छ।

नासाले पठाएको अन्तरिक्ष यान ‘ओरायन’ मंसीर २५ आइतबारको मध्याह्न सुरक्षित रुपमा प्रशान्त महासागरमा अवतरण गरेको छ। झण्डै एक महीना लामो चन्द्रमाको यात्रा तय गर्दै ओरायन पृथ्वीमा फर्केको हो। यस क्रममा यानले केही चुनौतीपूर्ण परीक्षण पूरा गरेको छ।

कयौं दिनको विलम्ब र आँधीबेहेरीले पुर्‍याएको सामान्य क्षतिबाहेक नासाले अन्तरिक्षमा पठाएको ‘आर्टेमिस-१’ को मिसन सफलतापूर्वक सम्पन्न भएको जनाएको छ।

यानमा भएको इन्धन चुहावटलाई अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाले  समयमै समाधान गरेका कारण कात्तिक ३० मा अमेरिकाको फ्लोरिडास्थित  केनेडी स्पेस स्टेशनबाट यान चन्द्रमाको परिक्रमा गर्न उडेको थियो। आर्टेमिस-१ ले चन्द्रमाको सतहमा अवतरण नगरे पनि हालसम्म कुनै अन्तरिक्ष यान नपुगेको दूरीसम्मको यात्रा तय गर्‍यो।

ओरायनले खिचेको चन्द्रमाको तस्वीर।

यो यान मानवरहीत भए पनि तीनवटा अन्तरिक्ष यात्री हेल्गा, जोहर र मोनिकिन क्याम्पोस भने यानमै थिए। यी उच्च प्रविधियुक्त म्यानिकिन हुन्। यी म्यानिकिन वैज्ञानिक अध्ययनका लागि बनाइएको नक्कली मानव हुन्।

तिनमा यस्तो सेन्सर जडान गरिएको छ, जसले मानव शरीर अन्तरिक्षको यात्रामा जाँदा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने परीक्षण गर्छ।

हेल्गा र जोहरलाई अन्तरिक्षमा महिलाको शरीरले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने जाँच्न बनाइएको थियो भने मोनिकिन क्याम्पोसले कमान्डरको कुर्सीमा बसेर चन्द्रमा जाँदाको यात्रामा मानिसको शरीरमा कस्तो उछाल आउँछ भन्ने अध्ययन गरेको छ।

चन्द्रमा नजिकबाट उड्दै ओरायन।

यी म्यानिकिन मार्फत भएको अध्ययनले नासाले आफूले बनाउने योजनामा रहेको अन्तरिक्ष यानको लागि महत्वपूर्ण जानकारी दिनेछ।

यसले भोलिका दिनमा अन्तरिक्ष यात्री चन्द्रमा तथा मंगल ग्रहमा जाँदाको लागि मार्गप्रशस्त गर्नेछ। यी प्रयोग अन्तरिक्ष यात्राबारे बुझाइलाई फराकिलो बनाउन प्रयुक्त धेरैमध्येको एक महत्वपूर्ण वैज्ञानिक प्रयोग हुन्।

शुरूआती योजनामा यानलाई भदौ १३ गते अर्थात २९ अगस्तमा प्रक्षेपण गर्ने तय गरिएको थियो। तर, केही प्राविधिक समस्या देखिएपछि नासाले प्रक्षेपण पर सारेको थियो।

शुरूमा आँधीबेहेरीले दुःख दियो भने पछि यानमा प्रयोग हुने इन्जिन चिस्याउने प्रविधिमा जटिलता देखियो। असोजमा आएर फेरि इन्धन चुहावटको समस्या देखियो। अद्यपि, अन्ततः कात्तिक ३० अर्थात नोभेम्बर १६ मा यानलाई प्रक्षेपण गरिएको थियो।

ओरायन स्पेसक्राफ्ट बोर्डसहित एसएलएस रकेटको दृश्य।

मंसीर २५ अर्थात ११ डिसेम्बरमा ओरियानले पहिलोपटक चन्द्रमाको परिक्रमा पूरा गर्ने क्रममा केही तस्वीर लियो। अन्नतः यानले ४२ दिनमा १.३ मिलियन माइल यात्रा तय गर्दै पृथ्वीमा फर्कियो।

“यानले जसरी काम गरोस् भन्ने अपेक्षा गरिएको थियो, त्यसैगरी काम हुनु सकारात्मक पक्ष हो,” अमेरिकी नौसेनाको स्कूल अफ एड्भान्स एअर एन्ड स्पेसका प्राध्यापक विन्डी ह्विटम्यान कोबले भनेकी छन्, “यसले अबका केही वर्षमा नासाले मानवसहितको यान अन्तरिक्षमा पठाउने योजनामा काम गर्न विश्वास बढाउँछ।”

आर्टेमिस नासाको चन्द्रमा अन्वेषणको बृहत् महत्वाकांक्षाको एक अंग हो। जसमा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीको अवतरण, चन्द्रमामा मानव वसोवासको सम्भावना र ‘गेट-वे’ नामक नयाँ अन्तरिक्ष स्टेशनको सम्भाव्यता

अध्ययन समावेश छन्। आर्टेमिस-१ ले सन् २०२४ मा प्रक्षेपण गर्ने योजनामा रहेका दुई वटा प्रक्षेपणलाई पनि मार्ग प्रशस्त गर्नेछ, जुन मानवसहितको यान हुनेछन्।

चन्द्रमातिर जाँदै ओरायन।

जस अनुसार चाँडोमा सन् २०२५ मा पहिलो पटक अश्वेत महिला अन्तरिक्ष यात्रीले चन्द्रमामा पाइला टेक्ने ऐतिहासिक योजना सामेल छ। हेल्गा, जोहर र मोनिकिन क्याम्पोस सहभागी भएको आर्टेमिसका सबै अनुसन्धान आगामी दिनका प्रक्षेपणको लागि सहयोगी हुनेछ।

आर्टेमिस-१ को प्रक्षेपण

नासाको अन्तरिक्ष प्रक्षेपण एसएलएसमा अत्यन्तै गह्रौं वस्तु समावेश भएको छ। यो यान न्युयोर्कमा रहेको स्वतन्त्राताको मूर्तिभन्दा केही मिटर मात्रै अग्लो छ। यसले ८.८ मिलियन पाउन्डको झट्का दिने क्षमता राख्छ।

२१ नोभेम्बर, २०१९ मा केनेडी स्पेसक्राफ्ट सेन्टरबाट नासाको एअरक्राफ्टमा लोड गरिँदै ओरायन।

अन्य अन्तरिक्ष यान जस्तै यसलाई पनि विभिन्न चरणमा डिजाइन गरिएको छ, जुन पृथ्वीको गुरुत्वाकर्षण चिर्न महत्वपूर्ण छ। यानमा दुई वटा रकेट बुस्टर जडिएको छ, साथै २१२ फुट अग्लो खण्डभित्र सात लाख ग्यालन तरल अक्सिजन र तरल हाइड्रोजन भरिएको छ। यो मात्रामा ग्यास भरिएको यान नासाले अहिलेसम्म बनाएकै थिएन।

नयाँ प्रविधिमा बनेको भए पनि यस एसएलएसको खाका भनेको पुरानै हो। कयौं अवयवमध्ये एक भनेको मुख्य इन्जिन हो, जुन नासाको स्पेस सटल कार्यक्रममा आधारित छ।

अन्य अन्तरिक्ष प्रक्षेपण कार्यक्रममा आशिंक रुपमा भए पनि पुनःप्रयोग गर्न सकिने रकेट बुस्टर प्रयोग हुने गरे पनि एसएलएसले भने एक पटक मात्र उडान भर्नेछ। यो नै एसएलएस र स्टारसिप बीचको फरक हो।

चन्द्रमामा अवतरण गर्ने प्रक्षेपण प्रणाली निर्माण गर्न स्पेस एक्सले ब्लु ओरिजिनलाई पछि पार्दै २.९ बिलियन डलरको ठेक्का पाएको थियो। सबै कुरा ठिकठाक रुपमा अघि बढे अबको चार महीनामा स्टरसिपले पहिलो परीक्षण उडान भर्नेछ।

एसएलएसलाई वित्तीय स्रोत उपलब्ध गराउने अमेरिकी कंग्रेसको निर्णय अन्तरिक्ष अध्ययन क्षेत्रमा चुनौतीपूर्ण मुद्दा रहिआएको थियो। किनभने परियोजनाको बजेट अर्बौंको थियो, र योजना धेरै पटक विलम्ब भएको थियो।

अर्काे, निजी कम्पनीले सस्तो विकल्पको प्रस्ताव गरिरहेका थिए। “कंग्रेसले ढिलो गरी बजेट विनियोजन गर्‍यो किनभने पैसा एसएलएससँग छ र रोजगारी कंग्रेसको मुख्य क्षेत्रहरुमा प्रवाहित भएको छ,” प्राध्यापक ह्विटम्यान कोब भन्छिन्।

ओरायनको लागि राम्रै सहयोग प्राप्त भएको छ, जुन नासाले आर्टेमिस मिसनका साथै नजिकैका साना ग्रह र मंगलग्रहको अन्वेषण यात्राको लागि सहायक हुन्छ। लकहीड मार्टिनले निर्माण गरेको यो यान बाहिरबाट हेर्दा छेउबाट पखेटा बाहिर निस्केको र पुछारमा गुमज भएको विशाल आकृतिको छ।

आर्टेमिसका सदस्यका लागि ओरायन घर जस्तै हो, जहाँ अन्तरिक्ष यात्री चन्द्रमाबाट आउजाउ गर्दै आफ्नो समय व्यतित गर्न सक्छन्। यस यान मानवीय अन्तरिक्ष यात्रीको लागि ठिक छ भन्ने निश्चय भएपछि यानमा

विभिन्न सुविधा उपलब्ध गराइनेछ, जसमा स्लिपिङ ब्याग, नासाले तयार पारेको मेनुमा आधारितको खाना, नयाँ मोडलको शौचालय छ, जुन शून्य गुरुत्व र सबै लिंगका व्यक्तिका लागि हुने गरी तयार परिएको छ।

यस मिसनमा रहेको एक यात्रु जोहर र हेल्गा प्लास्टिकका ३८ टुक्राबाट निर्मित छन्, जुन मानवीय तन्तु जस्तै गुणले युक्त छन्। साथै तिनमा पाँच हजार ६ सय सेन्सर र ३४ वटा डिटेक्टर छन्, जसले विकिरणबारे प्रतिक्रिया दिन्छन्।

अन्तरिक्षमा विकिरणको मात्रा अत्यन्तै उच्च हुने हुँदा भविष्यमा अन्तरिक्ष यात्रीलाई विकिरणका कारण क्यान्सर हुनसक्ने चुनौतीलाई कसरी सामना गर्ने भन्ने चासो छ। यसै पनि अन्तरिक्षको यात्रा विगतभन्दा लामो र महत्वाकाक्षी हुँदै गइरहेको छ।

ओरायनमा भएका दुई म्यानिकिनमा स्तन र पाठेघर पनि छ, जसले महिलालाई हुनसक्ने सम्भावित हानीबारे जानकारी बटुल्नेछ। अर्को म्यानिकिन जोहरले ‘एस्ट्रोराड’ नामक भेस्ट लगाएको छ, जसका माध्यमबाट अन्तरिक्षमा हुनसक्ने

सम्भावित हानीलाई रोक्ने अध्ययनमा इन्जिनियर खटिएका छन्। हेल्गाले भने भेस्ट लगाएको छैन, र उसमा परेको प्रभावको अध्ययन गरेर नासाका वैज्ञानिकले ‘एस्ट्रोराड’ले कतिको काम गर्‍यो भनेर हेर्नेछन्।

ओरायनले अन्तरिक्षमा ढुसीले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने पनि हेर्नेछ। ओरायनमा यात्रारत सदस्यका सिटमुनी बरफमा जमाइएका ढुसीलाई अन्तरिक्षको वातावरणमा तीन दिनसम्म राखिनेछ। त्यसपछि त्यसलाई पृथ्वीमा सुरक्षित ल्याएर तिनको डीएनएमा कस्तो परिवर्तन आयो भन्ने हेरिनेछ।

यस परीक्षणले आगामी दिनमा अन्तरिक्ष यात्रामा जाँदा मानिस कसरी स्वस्थ्य रहन सक्छन् भन्ने मार्गनिर्देश गर्न सघाउनेछ।  हिमाल खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *