बालेन शाहकाे याे आह्वान कसले मान्ला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले महानगरको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताएका छन् ।

२८औँ महानगर दिवसको अवसरमा आज बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आफूहरू निर्वाचित भएर आइसकेपछि महानगरका सम्पूर्ण कामहरूलाई थप प्रविधियुक्त बनाएको र महानगरको थप विकासमा सबैले हातेमालो गर्नुपर्ने बताएका हुन् ।

सेवाग्राहीको हितलाई दृष्टिगत गर्दै महानगरले मोबाइल एप्लिकेशन जारी गरेको भन्दै उनले अब महानगरका वडाहरूबाट लिइने हरेक सेवाका लागि मोबाइलबाटै निवेदन दिन सकिने अवस्था बनेको बताएका छन् ।

‘महानगरको एपमार्फत वडाहरूबाट गरिने सिफारिसहरू र सेवा सुविधाहरू वडामा गई लाइन बसेर कार्यालयका विभिन्न कोठाहरूमा डुलेर लिनुपर्ने झन्झटको अन्त्य गरिएको छ,’ उनले भने, ‘अब यस्ता कामहरू हामीले अनलाइनबाटै रिक्वेष्ट गर्न सक्ने भएका छौँ ।’

सेवाग्राहीको आवेनदमाथि कार्यालयका तर्फबाट हुने विभिन्न प्रक्रियाहरू पूरा गरिसकेपछि मात्रै पैसा तिर्दा हुने र सिफारिस हातमै आइपुग्ने उनको भनाइ छ ।

आधिकारिक व्यक्तिले गर्ने हस्ताक्षर समेत डिजिटर बनाइएको भन्दै उनले महानगरलाई प्रविधियुक्त र जनमैत्री बनाइएको दाबी गरेका हुन् ।

त्यस्तै, महानगरकी उपप्रमुख सुनिता डंगोलले पनि महानगरको निर्माणमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेकी छिन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोबिता गौतमलगायतको उपस्थिति थियो भने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *