काठमाडौं। मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट जनताको रोजाइको पहिलो पार्टी बनेको भन्दै नेकपा एमालेले राजधानीमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको सन्दर्भमा एमालेले आगामी पुस ५ गते राजधानीमा ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।
विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनाका साथै सम्बोधन गर्ने बताइएको छ ।
हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको एमालेबाट प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएको एमालेले जनाएको छ ।
कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू,
निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव,
केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको बताइएको छ ।