पेट्रोलियम पदार्थको मूल्य घट्याे

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।

मूल्य समायोजनपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १७५ कायम हुने भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

यसबीचमा भारतीय आयल कर्पोरेशनले पटक–पटक मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमले घाटा देखाउँदै मूल्य समायोजनमा आनाकानी गर्दै आएको थियो ।

पछिल्लोपटक शुक्रबार भारतीय आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएसँगै नेपालमा थोरै मूल्य घटाइएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि पनि ठूलो नाफामा छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरेन ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धिबाट जोगाएका कारण अहिले निगमको वक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने तर्क गर्छन् ।

‘अहिले सञ्चित नोक्सानी र ऋणका कारण निगम ठूलो संकटमा छ, यसलाई उपभोक्ताले सघाउनु पर्‍यो,’ प्रवक्ता उपाध्यायले भन्छन् , ‘पहिले चर्को मूल्य वृद्धिमा निगमले उपभोक्तालाई जोगायो, अहिले उहाँहरुले चर्को मूल्यमा हामीलाई सघाउनुपर्‍यो ।’

आयल निगमको नाफा र घाटाको हिस्सा उपभोक्तालाई बराबर बाँड्न निगम आफैंले बनाएको स्वचालित मूल्य समायोजन प्रणाली लागू नगरेको एक वर्षभन्दा बढी भइसकेको छ ।

निगमले पेट्रोलियम पदार्थको आयात र बिक्रीलाई अन्तर्राष्ट्रिय मूल्यबाट प्रभावित हुन नदिन २०७१ सालमा स्वचालित मूल्य निर्धारण कार्यविधि लागू गरेको थियो ।

१५ दिनको खरिद मूल्यलाई आधार मानेर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गर्दै आएको थियो । तर रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको प्रवक्ता उपाध्याय बताउँछन् ।

पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । १९ अर्ब घाटा पूर्ति गरेर निगमले सञ्चित नाफा केही अर्ब नपुर्याएसम्म अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन नगर्ने निगमो योजना छ ।

हेर्नुहोस् मूल्य सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *