कतार विश्वकपको फाइनल खेल आज, उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२को फाइनल खेल आज हुँदै छ । कतारको लुसेल रंगशाला हुने फाइनल खेल आज राति ८ः४५ बजेबाट सुरु हुनेछ । उपाधिको लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

अर्जेन्टिना र फ्रान्स दुबैले दुई/दुई पटक विश्वकपको उपाधि जितिसकेका छन् । यसअघि सन् २०१८ मा भएको विश्वकपको उपाधि पनि फ्रान्सले जितेको थियो ।

फ्रान्स लगातार दोस्रो पटक विश्वकपको उपाधि हात पार्ने दाउमा छ भने अर्जेन्टिनालाई ३६ वर्षपछि उपाधि हात पार्ने अवसर रहेको छ ।

अर्जेन्टिनाले १९८६ पछिको विश्वकपको उपाधि हात पार्न सकेको छैन् । अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो ।

विश्वकप फुटबल : मोरोक्कोमाथि २–१ को जितसहित क्रोएसिया तेस्रो

मोरोक्कोलाई शनिबार २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थान हासिल गरेको छ ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको सातौँ मिनेटमा जोस्को जिभार्डियलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ओभ्रो माजेरको क्रसलाई इभान पेरिसिचले बक्सभित्र जिभार्डियलका लागि मिलाइदिएका थिए । जसमा जिभार्डियलले उत्कृष्ट हेडर गोल गरे ।

तर, क्रोएसियाको यो अग्रता धेरैबेर टिक्न पाएन । यसको अर्को मिनेटमा नै अक्रफ दारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा फर्काएका थिए । बक्सबाहिरबाट आएको फ्रिकिक बल क्रोएसिका ओभ्रो माजेरले क्लियर गर्न नसक्दा दारीले हेडर गोल गरेका थिए ।

तर, पहिलो हाफमा लागि तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै पुन: क्रोएसियालाई अग्रता दिलाएका थिए । र, ओर्सिचको गोल नै निर्णायक बनेपछि क्रोएसियाले कतार विश्वकपमा तेस्रो स्थान हासिल गर्‍यो ।

विश्वकपको इतिहास क्रोएसियाले दोस्रोपटक तेस्रो स्थान हासिल गरेको हो । यसअघि क्रोएसियाले सन् १९९८ को विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । जुन विश्वकपमा क्रोएसियाको पहिलो सहभागितासमेत थियो ।

क्रोएसियाले विश्वकपको पछिल्लो संस्करणमा भने फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा फ्रान्ससँग ४-२ ले पराजित भएपछि क्रोएसियाले उपविजेतामा चित्त बुझाएको थियो ।

यता, मोरवक्को भने अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल खेल्ने पहिलो टिम हो । सेमिफाइनल खेलमा मोरवक्को फ्रान्ससँग २-० ले र क्रोएसिया अर्जेन्टिनासँग ३-० पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *