विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्समा काे बलियाे ?

काठमाडाैं । कतार विश्वकप फुटबलको फाइनल आइतबार राति हुँदैछ । तेस्रोपल्ट विश्वकप फुटबलको उपाधि जित्ने लक्ष्यसहित अर्जेन्टिना र फ्रान्सकाे टिम आमनेसामने हुँदैछन् ।

फुटबलका लागि चर्चित दुई ठूला टिम फाइनलमा खेल्ने भएपछि त्यसले माहौल झनै तताएकाे छ । विश्व फुटबलका सुपर स्टार लियोनल मेस्सी र केलियन एमबाप्पेतर्फ नै सबैको ध्यान हुनेछ ।

फ्रान्स लगातार दोस्रोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको टिम हो । सन् २०१८ को विश्वकप जितेको फ्रान्स तेस्रोपटक विश्वकपको उपाधि लिएर जाने लक्ष्यमा छ । फ्रान्सले पहिलोपटक सन् १९९८ मा विश्वकप फुटबलको उपाधि जितेको थियो । अर्जेन्टिना पनि तेस्रोपटक नै विश्वकप फुटबलको उपाधि जित्न चाहन्छ ।

मेस्सी र अर्जेन्टिना

पहिलो खेलमा साउदी अरबसँग अप्रत्याशित हार ब्यहोरेको अर्जेन्टिनाले त्यसपछिका खेलमा उत्कृष्ट लयमा देखियाे, अनि फाइनलसम्मको यात्रा तय गरेकाे छ ।

टिम कप्तान लियाेनल मेस्सी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै आफ्नाे खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् । त्यसैले पनि अर्जेन्टिना र मेस्सीका लागि यो फाइनल खेल धेरै अर्थपूर्ण छ । समूह चरणमा साउदी अरबविरुद्धको त्यो २-१ गोलको हारबाहेक अर्जेन्टिनाले त्यसपछिका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

फाइनलसम्मको यात्रा तय गर्दा अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्यो । अर्जेन्टिनाले मेक्सिकोलाई २-० र पोल्यान्डलाई समूह चरणको अन्तिम खेलमा २-० ले हराएकाे थियाे ।

प्रिक्वार्टरफाइनलमा अस्ट्रेलियालाई २-१ गोलले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्‍याे । अनि विश्वकपको सेमिफाइनलमा पुग्याे । सेमिफाइनलमा विश्व उपविजेता क्रोएसियालाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना उपाधिनजिक पुगेको हो ।

अर्जेन्टिना विश्वकपमा दुईपटक विश्वकप जित्दा तीनपटक उपविजेता बनेको छ । तीनपटक उपविजेता हुँदा दुईपटक फाइनलमा अर्जेन्टिना जर्मनीसँग सन् १९९० र २०१४ मा पराजित भएको छ । त्यस्तै, एकपटक भने सन् १९३० मा भएको विश्वकपमा उरुग्वेसँग पराजित हुँदै अर्जेन्टिना उपविजेता बनेको थियो ।

अर्जेन्टिनाले पहिलोपटक सन् १९७८ मा विश्वकप आयोजना गर्ने अवसर पाएको थियो । यही विश्वकपको उपाधि अर्जेन्टिनाले जित्दै आफ्नो इतिहास बनाएको थियो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले दोस्रोपटक उपाधि जितेको थियो ।

सन् २०१४ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको फाइनलमा पुर्‍याएका कप्तान मेस्सीलाई यो अन्तिम मौका पनि हो । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाए उनी सबैभन्दा सफल खेलाडी बन्नेछन् । फुटबलमा मेस्सीले जित्न नसकेको एक मात्रै उपाधि हो, विश्वकप ।

३५ वर्षीय मेस्सी जसरी भए पनि अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएरै खेल जीवनबाट विश्राम लिने तयारीमा छन् । फ्रान्सविरुद्धको खेलमा सबैको नजर मेस्सीमाथि नै हुनेछ । उनी गोल्डेन बुटका मुख्य दाबेदार पनि हुन् । उनले जारी विश्वकपमा पाँच गोल गरिसकेका छन् । सन् २००६ देखि २०२२ सम्म उनले लगातार पाँच विश्वकप खेल्दै ११ गोल गरिसकेका छन् ।

फ्रान्सविरुद्धको फाइनल खेलमा कप्तान मेस्सीले विश्वकपमा अर्को कीर्तिमान बनाउँदैछन् । विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको रेकर्ड उनकाे नाममा जानेछ ।

यसअघि जर्मनीका लोथर माथेउसले विश्वकपमा २५ खेल खेल्दै कीर्तिमान बनाएका थिए । क्रोएसियाविरुद्धको सेमिफाइनल खेलमा मेस्सीले लोथरको रेकर्डबराबरी बनाएका छन् । अब फ्रान्सविरुद्धकाे खेलसँगै उनले कुल २६ खेल पुर्‍याएर रेकर्ड राख्नेछन् ।

फ्रान्स लगातार उपाधि जित्ने होडमा

फ्रान्सलाई लगातार दोस्रोपटक विश्वकप फुटबलको उपाधि जित्ने सुनौलो अवसर छ । सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुईपटक विश्वकपको उपाधि जित्दै इतिहास बनाएको थियो । २०१८ मा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्स पनि लगातार दुईपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको फ्रान्सका लागि अविस्मरणीय र ऐतिहासिक विश्वकप भने सन् १९९८ मा भएको थियाे । घरेलु मैदानमा विश्वकपको उपाधि जितेको फ्रान्सले त्यसपछि दोस्रोपटक विश्वकप जित्न २० वर्ष लाग्यो ।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाइनलमा फ्रान्स पुगेको थियो तर विश्वकपको उपाधि दोस्रोपटक उचाल्ने फ्रान्सको सपना इटालीले भताभुङ्ग बनायो । यो विश्वकपमा इटालीसँग फ्रान्स पेनाल्टी सुटआउटमा ५-३ ले स्तब्ध बन्यो ।

फ्रान्स सन् १९५८ र १९८६ मा दुईपटक विश्वकपमा तेस्रो भएको छ । त्यस्तै, सन् १९८२ को विश्वकपमा पनि फ्रान्स सेमिफाइनल पुग्दै चौथो भएको थियो ।

जारी विश्वकपको समूह ‘डी’ को विजेता बनेको फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४-१ गोलले पराजित गरेको थियो । दोस्रोे खेलमा डेनमार्कलाई २-१ गोलले हराएको फ्रान्स तेस्रो खेलमा भने ट्युनिसियासँग १-० गोलले पराजित भयो ।

प्रिक्वार्टरफाइनलमा पोल्यान्डलाई ३-१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले हराएको थियो । सेमिफाइनलमा अफ्रिकी टिम मोरोक्कोलाई २-० गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

विश्वकपमा फ्रान्सभन्दा अर्जेन्टिना अघि

विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म फ्रान्स र अर्जेन्टिनाबीच जम्मा तीनपटक मात्रै भेट भएको छ । तीनमध्ये दुई खेलमा अर्जेन्टिनाले जित्दा एक खेलमा मात्रै फ्रान्स विजयी भएको छ ।

सन् १९३० को पहिलो विश्वकपमा फ्रान्स र अर्जेन्टिना एउटै समूहमा थिए । जुन खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० गोलले पराजित गरेको थियो । अर्जेन्टिनाका लागि लुइस फेलिपे मोन्टीले गोल गरेका थिए । त्यो विश्वकपमा अर्जेन्टिना समूह विजेता बन्दा फ्रान्स समूह चरणबाटै बाहिरिएको थियो ।

सन् १९७८ मा अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा फ्रान्स र अर्जेन्टिना एउटै समूहमा थिए । समूह चरणबाटै बाहिरिएको फ्रान्सलाई त्यो विश्वकपमा अर्जेन्टिनाले २-१ गोलले पराजित गरेको थियो ।

सन् २०१८ को विश्वकप फुटबलमा भने फ्रान्स र अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा भेट भएकाे छ, जुन खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *