संघीय सांसदलाई के–के सुविधा, कति पाउँछन् तलब भत्ता ?

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित २ सय ७५ सांसदले शपथग्रहण गरेकै दिनदेखि राज्यबाट सुविधा पाउने भएका छन् । सत्तारूढ दलले शपथग्रहणपछि मात्रै नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने भएकाले संसद् सचिवालयले शपथ गराउने तयारी गरिरहेको छ ।

बैठक ढिलो बसे पनि सांसदहरूले शपथग्रहण गरेदेखि नै सुविधा पाउने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । संसद् बैठकसमेत पुसभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नयाँ सांसदलाई शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा दाताको सहयोगमा झोला दिने गरिएकामा यसपालि दाता गुहारिएको छैन । सांसदहरूलाई दिने डायरी छुट्टै छापिएको छ ।

सांसदहरूलाई मासिक अतिथि सत्कार भत्ता पनि दिइनेछ । सांसदले निजी सचिवालयका लागि कर्मचारी सुविधा पनि पाउनेछन् । सांसदको कोठा व्यवस्थापन गर्न सुरुमै फर्निचरको एकमुष्ट पैसा उपलब्ध गराउने कानुनी व्यवस्था छ ।

सांसदहरूले तलबबापत मासिक ६६ हजार ७० रुपैयाँ पाउनेछन् । काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ पाउने छन् ।

घर हुने सांसदले भने घर मर्मतसम्भारबापत मासिक ९ हजार रुपैयाँ पाउँछन् । बिजुली, पानी, इन्टरनेट, टेलिफोन महसुल र पत्रपत्रिकाबापत मासिक ३ हजार रुपैयाँ दिइन्छ । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ ।

सांसद बिरामी परे उपचारसमेत सरकारकै खर्चमा हुनेछ । अस्पताल भर्ना भएर गरिएको उपचार खर्च मात्र नभएर नियमित सेवन गर्ने औषधिसमेत सचिवालयले उपलब्ध गराउँछ ।

नियमित पारिश्रमिकबाहेक थप रकम चाहिए पेस्की लिने सुविधा हुनेछ । सांसदले आफूले पाउने तलबको बढीमा तीन महिनाको तलबबापतको पेस्की पाउने व्यवस्था छ ।

बैठक बस्दा दैनिक १ हजार यातायात खर्च र १ हजार बैठक भत्ता दिइन्छ । सत्तापक्षका नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक र संसदीय समिति सभापतिले गाडी सुविधा पाउँछन् ।

के के हुन्छ सांसदलाई सुविधा ?

मासिक तलब– ६६०७०

अधिकृतस्तरको १ स्वकीय सचिवको तलब

विशेष भत्ता– १०००

टेलिफोन, इन्टरनेट, पत्रपत्रिका– ३०००

घर नहुनेलाई आवास– १८०००

घर हुनेलाई मर्मत खर्च– ९०००

फर्निचर– १५००० एकमुष्ट

बिजुली, पानी– २०००

अतिथि सत्कार– १०००

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *