एमबाप्पेले जिते गोल्डेन बुट

काठमाडौं । फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले फिफा विश्वकप २०२२ को गोल्डेन बुट जितेका छन् ।

आइतबार भएको फाइनलमा हारका बाबजुद अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेपछि एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट जितेका हुन् । एमबाप्पे कतारमा सम्पन्न विश्वकपभर आठ गोल गरे । उनले विश्वकपको कुल सात खेलमा आठ गोल गरेका हुन् ।

एमबाप्पेले पछ्याएको अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सात गोल गरेका थिए । आइतबार कतारको लुसैल रंगशालामा सम्पन्न फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै विश्वकपको इतिहासमा तेस्रोपटक उपाधि जितेको थियो ।

खेल पेनाल्टीमा पुग्नुअघि अर्जेन्टिना र फ्रान्सले ३–३ को बराबरी खेलेका थिए । जसमा फ्रान्सका एमबाप्पेले ह्याट्रिक गर्दा अर्जेन्टिनाका मेसीले दुई गोल गरेका थिए । अर्जेन्टिनाका लागि अर्को एक गोल एन्जल डी मारियाले गरेका थिए ।

अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । यसअघि सन् १९६६ को विश्वकप फाइनलमा इङ्ल्यान्डका जिओफ हर्स्टले पश्चिम जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए ।

मेस्सी बने विश्वकपका सर्वोत्कृष्ट खेलाडी

अर्जेन्टिनालाई विश्वकप जिताएका कप्तान लियोनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सर्वोत्कृष्ट खेलाडी बनेका मेस्सीले गोल्डेन बल जितेका छन् ।

फाइनलमा लियोनल मेस्सीले फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे । उनले कतार विश्वकपमा जम्मा सात गोल गरेका छन् ।

आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी दोस्रो पटक विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले यसअघि सन् २०१४ को विश्वकप फुटबलमा पनि गोल्डेन बल जितेका थिए । त्यो विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग १–० गोलले पराजित भएको थियो ।

विश्वकपमा सर्वाधिक २६ खेल खेल्दै कप्तान मेस्सीले नयाँ कीर्तिमान कायम पनि बनाएका छन् । यसअघि जर्मनीका लोथर माथेउसले विश्वकपमा २५ खेल खेल्दै .कीर्तिमान बनाएका थिए ।

क्रोएसियाविरुद्धको सेमिफाइनलमा अर्जेन्टिनाले ३–० गोलले हराउँदा कप्तान मेस्सीले लोथरको रेकर्ड बराबरी बनाएका थिए । योसँगै विश्वकप फुटबल इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी मेस्सी बनेका हुन् ।

३५ वर्षीय मेस्सीले सन् २००६ देखि २०२२ सम्म लगातार पाँच विश्वकप खेल्दै १३ गोल गरेका छन् ।

त्यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेजले विश्वकपको युवा खेलाडी अवार्ड जितेका छन् । त्यस्तै, अर्जेन्टिनाकै गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट गोलकिपर घोषित हुँदै गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *