संसदीय दल निर्वाचन भोलि: देउवा र गगनले उम्मेदवारी दर्ता गरे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराए।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन्। सभापति देउवाको उम्मेदवारीमा नेता रामचन्द्र पौडेल प्रस्तावक र उपसभापति पूर्णबहादुर खड्का समर्थक छन्।

महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक छन् भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गरेका छन्।

कांग्रेस संसदीय दलको नेताको लागि भोलि बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ।

देउवालाई गगनको आग्रह- उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको भविष्यका लागि उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका हुन् ।

‘आदरणीय सभापति देउवाले उम्मेदवारी फिर्ता लिने कुरा ऐतिहासिक हुन्छ,’ उनले भने, ‘सँगसँगै कांग्रेसको भविष्यका निम्ति वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहलाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्छु ।’

थापाले सभापति देउवाले उम्मेदवारी फिर्ता नलिए पनि सबै मतदाताले आफूलाई मत हाल्ने विश्वास रहेको बताए । उनले परिवर्तनको बेगलाई अगाडि बढाउनका लागि आफूले उम्मेदवारी दिएको पनि बताए ।

थापाले परिवर्तनका लागि पाँच वर्षअघि आफू प्रकाशमान सिंहको पक्षमा उभिएको पनि बताए । ‘५ वर्ष पहिले प्रकाशमानको पक्षमा उभिएको थिएँ । अहिले उहाँले विचार गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *