र‍विकाे शपथग्रहणकाे बाटाे खुल्याे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद्को शपथग्रहण गर्ने बाटो खुलेको छ।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेको उम्मेदवार बन्न योग्यता नै नपुगेको भन्दै शपथग्रहण रोक्न माग गर्दै दुईवटा रिट निवेदन परेका थिए।

लामिछानेविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिटमा सुनुवाइ गर्दै अदालतले ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अदालतले अब दुवै पक्षलाई बोलाएर छलफल गर्नेछ।

युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै रिट निवेदन दिएका थिए।

त्यस्तै, अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछानेको उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट दायर गरेका थिए।

परिणामबारे छानबिन गर्छौँ : अर्जुननरसिंह केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको निर्वाचनमा आफ्नो समूहबाटै पर्याप्त मत नपाएको बारे छानबिन गरिने बताएका छन् ।

महामन्त्री गगन थापाले बुधबार भएको संसदीय दलको नेताको निर्वाचनमा २५ मत मात्र पाएपछि उनले यस्तो बताएका हुन् । केसी, गगन डा. शेखर कोइराला समूहका नेता हुन् । यो समूहकै केही नेताले सभापति शेरबहादुर देउवाको पक्षमा मत हालेको चर्चा छ ।

परिणामबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, “छानबिन गरेर पत्ता लगाउँछौँ ।” उनले निर्वाचन लोकतान्त्रिक संस्कारको सुन्दर पक्ष भएकाले यो प्रक्रियाबाट आएको परिणामलाई स्वीकार गर्नुपर्ने बताए ।

केसीले पार्टी पुरानो सोचबाट नचल्ने समेत बताए । “एकता कायम गर्न आवश्यक छ । जनताको अपेक्षा सम्बोधन गर्न नयाँ सोच र व्यवहार नेतृत्वले दिनुपर्छ,” उनले भने ,“एकीकृत गर्दै नयाँ बाटो तय गर्नुपर्छ । पार्टी बासी सोच र विचारले चल्दैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *