पछि धोका भयो भन्न पाइँदैन : गगन थापा

काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यसलाई काँग्रेसले नबोक्ने चेतावनी दिएका छन् ।

माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले बुधबार यी विषयमा संस्थागत निर्णय हुनुपर्ने उल्लेख गरे ।

संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गरे ।

‘सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा काँग्रेस बाँधिन्छ । तर बन्दकोठामा गरियो भने त्यस्तो निर्णय काँग्रेसले बोक्दैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन,’थापाले भने ।

बुधबार सम्पन्न काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी भए भने थापाले २५ मत ल्याए । उनले आफ्नै समूहको मतसमेत पाएनन् ।

बालुवाटार पुगेर रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् ।

संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्बिर सार्वजनिक गरेका छन् । विगतमा काँग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औँ महाधिवेशनयता सहयोगीको भूमिकामा देखिएका छन् ।

०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा देउवासँग पराजित भएका थिए । १३ औँ महाधिवेशनमा देउवासँग पराजित उनी १४ औँ महाधिवेशनमा प्रतिस्पर्धीको रिङबाट आउट हुन पुगे ।

त्यसपछि पौडेल र देउवाबीच सहकार्य भइरहेको छ । पौडेल प्रस्तावक बसेको संसदीय दलको चुनावमा देउवा भारी मतान्तरले निर्वाचित भएका छन् । आज बिहान भएको दलको नेताको निर्वाचनमा देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ मत पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *