दीपकराज गिरीले कांग्रेस सांसदहरुलाई कटाक्ष गर्दै दिए कडा डाईलग : घाँस खान छोडेर परालतिर… ?

काठमाडौं । दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहने अभिनेतामध्ये पर्छन् । खासगरी राजनीतिमा उनको चासो छ । आफ्ना फिल्मको केन्द्रमा पनि उनी राजनीतिलाई राख्छन् ।

उनै दीपकले बुधबार भएको नेपाली कांगे्रस संसदीय दलको नेताका लागि भएको चुनाव र यसको नतिजालाई लिएर व्यंग्य गरेका छन् । उनी लेख्छन्, ‘सरकार र शक्ति भनेको घाँस हो । परिवर्तन भनेको पराल हो । घाँस खान छोडेर परालतिर जान्छ कोही ?’

संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा थिए । देउवा ६४ मत ल्याएर विजयी हुँदा थापाले २५ मत पाए ।

कांग्रेस संसदीय दलको नेताको यो चुनावलाई लिएर सामाजिक सञ्जालमा समेत व्यापक टीकाटिप्पणी भइरहेको थियो भने धेरैले यसलाई चासोको रुपमा लिएका थिए ।

कांगे्रसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा छ । तर देउवालाई चुनौती दिंदै थापाले उम्मेदवारी दिएपछि चौतर्फी चासो थियो । कलाकारले समेत यसप्रति चासो राखेका थिए ।

दीपकराज गिरीको उक्त कटाक्ष कांग्रेस सांसदप्रति लक्षित भएको बुझ्न कठिन छैन ।

संसदीय दलमा पराजित भएँ, सरकारमा जान्नँ, मन्त्री हुन्नँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चु्नावमा पराजित भइसकेकपछि आफू अब मन्त्री नहुने बताएका छन्।

सभापति शेरबहादुर देउवासँग ३९ मतले पराजित भएसँगै उनले संसदीय दलको अर्को चुनाव नभएसम्म सरकारमा नजाने घोषणा गरेका हुन्।

‘परिणाम जे आए पनि अब हामी पार्टीलाई हामी एकढिक्का बनाएर लैजान्छौँ’, उनले भने, ‘कांग्रेसका अधिकांश सांसद साथीहरु पार्टीलाई पुरानै शैलीमा चलाउने पक्षमा उभिनुभयो। यसलाई म स्वीकार्छु।

अब म मलाई मत नदिने साथीहरुको पनि मन जित्ने प्रयास गर्छु। फेरि केही समयपछि निर्वाचन हुन्छ। हामी फेरि प्रतिस्पर्धा गरौँला। त्यो बेलासम्म नयाँ परिणाम आउला त्यसबेलासम्म आफ्नो पक्षमा नतिजा ल्याउँछु् भन्नेछ।’

उनले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि अब आफू सरकारको कुनै जिम्मेवारीमा नजाने पनि बताएका छन्।

‘म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि फेरि त्यसको कोसिस गर्छु। सरकारमा अरु साथीहरु जानुहुन्छ। नेपाली कांग्रेसको महामन्त्रीका रुपमा काम गर्छु, सांसदका रुपमा काम गर्छु’,

उनले भने, ‘संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने हो। अर्को चुनावमा म परिणाम मेरो पक्षमा पार्ने गरी काम गर्छु। सरकारमा जाने र मन्त्रीका रुपमा काम गर्ने कुरा अहिले म गर्दिनँ। यो परिणाम मेरा लागि अनपेक्षित थियो। मैले अझै मिहिनेत गर्नुपर्ने भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *