प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले लिए पद तथा गोपनीयताको शपथ, १७ जना सांसद अनुपस्थित

काठमाडाैं । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् ।

माधव नेपाल भन्छन्– अब राष्ट्रपतिका लागि योग्य उमेरमा पुगेँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्नका लागि योग्य उमेरमा पुगेको बताएका छन् । उनी आउँदो फागुन २६ गतेदेखि ७० वर्ष पूरा हुँदै छन् ।

अध्यक्ष नेपालले यसअघि दुईपटक आफूले राष्ट्रपति पद अस्वीकार गरेको पनि बताए । बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणअघि बसेको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग नेपालले यस्तो बताएका हुन् ।

“मलाई ०६४ सालमा पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो । ०७२ सालमा संविधान जारी भएपछि पनि राष्ट्रपति बन्ने प्रस्ताव आएको थियो,” उनले भने, “त्यस बेला मैले उमेरका कारण म सक्रिय राजनीति गर्ने अवस्थामा छु भनेर अस्वीकार गरेको थिएँ ।”

उनले अहिले दलका नेताहरूसँग राष्ट्रपति को बन्ने भन्ने विषयमा छलफल नभए पनि आफू उमेरका हिसाबले उपयुक्त समयमा रहेकोे आशय प्रकट गरे ।

“हुन त दलका शीर्ष नेताहरूसँग यस विषयमा छलफल भएको छैन, तर उमेरकै कारण राष्ट्रपति बन्दिनँ भन्ने अवस्था छैन,” नेपालले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *