सपथ लिएपछि रवि लामिछाने के भन्छन् !

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी सरकारमा सहभागी हुने नहुने भन्दा पनि आफूहरूले उठाएका एजेन्डा सहभागी हुने या नहुने भन्ने मुख्य प्रश्न रहेको बताएका छन् ।

‘व्यक्ति जाने अथवा पार्टी सहभागी हुने भन्दा पनि एजेन्डा सहभागी हुने हो । त्यो एजेन्डा पूरा हुने प्रतिबद्धताको आवश्यकता हो,’ बिहीबार संघीय संसद् भवन परिसरमा लामिछानेले भने ।

संसद् भवन प्रवेश गर्दै गर्दा आफूले निकै ठूलो जिम्मेवारी थपिएको महसुस गरेको लामिछानेले बताए ।

चार सांसद अनुपस्थित रहे शपथमा

नयाँ सांसदको शपथ समारोहमा चारजना अनुपस्थित भएका छन् । प्रेम आले, महिन्द्र राय यादव, माया राई र रामकुमार राई अनुपस्थित रहेको संसद् सचिवालय स्रोतले जनाएको छ ।

सरकार गठबन्धनकै बन्छ तर नेतृत्वमा सहमति भएको छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । बिहीबार शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सत्ता गठबन्धनकै सरकार बन्ने भए पनि नेतृत्वबारे भने सहमति भइनसकेको बताए ।

उनले अहिले सबै प्रक्रिया सहज र स्वाभाविक ढंगले अगाडि बढिरहेको भन्दै सरकार बन्न पनि कुनै समस्या नहुने दाबी गरे । तीनै तहको चुनाव सम्पन्न भइसेको भन्दै प्रचण्डले अब सरकारले पनि त्यहीअनुसार काम गर्नुपर्ने बताए ।

सरकार गठनका बिषयमा नेताहरुबीच छलफल भएको छैन : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका बिषयमा नेताहरुबीच कुनै छलफल नभएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफु पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका बिषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।

राष्ट्रपतिको उम्मेद्वार बन्ने बिषयमा सोधिएको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताए ।

“पद बाँडफाँटका बिषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्छ,” नेपालले भने, “छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका बिषयमा छलफल गर्नेछौँ ।” उनले नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षा अनुसार आफु अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *