बालेनलाई नफुट्ने तबला उपहार दिएको छु : के पी ओली

काठमाडाैं । स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा जितेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई तबला उपहार दिएका थिए ।

र्‍याप गायकलाई तबला उपहार दिएपछि धेरैले चासो व्यक्त गरेका थिए । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा गैरराजनीतिक कुराकानी गर्न आएका ओलीलाई पत्रकार अखण्ड भण्डारीले प्रश्न गर्छन्,

‘र्‍याप गायकलाई तबला किन उपहार दिनु भएको ?’जवाफमा ओलीले मेयर बालेनको ‘माटोको तबला फुटेकाले’ आफूले नफुट्ने ‘मेटल तबला’ उपहार दिएको सुनाए ।

‘मलाई के जानकारी थियो भने, बालेन शाह अर्थात बालेन्द्र शाह काठमाडौंका गएको स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख, उहाँ तबला बजाउने गर्नुहुन्छ,’

ओलीले भने, ‘तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो । उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’

प्रतिनिधि सभा सदस्य यादव र राईले आज लिए सपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ गराए ।

शपथ समारोहमा सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । प्रतिनिधिसभाका २७० जना सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए भने यादव र राई कारणवश शपथ लिन छुटेको बताइएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० गरी २७५ सांसद छन् । अब दुई सांसदले शपथ लिन बाँकी छ । सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन सकेका छैनन् । उनीहरुले उपयुक्त समयमा शपथ लिनसक्ने सचिवालयले जनाएको छ ।

देउवाले प्रचण्डलाई छोड्नुपर्छ : गोकुल बास्कोटा

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभामा पुन: निर्वाचित गोकुल बास्कोटाले अस्थिरता नेपालको अभिशप्त नियति भएको बताएका छन् ।

नेपालको राजनीतिमा जहिल्यै च्याँखे दाउ थाप्नेहरू निर्णायक हुने र त्यसले मुलुकमा गम्भीर अस्थिरता निम्त्याउनाका साथै जनताको तीव्र विकासको इच्छा र चाहना मरिरहेकोेप्रति उनले चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाली राजनीति फेरि पनि च्याँखे दाउमै रमाउने देखिदै छ,’ बास्कोटाले भने, ‘विकास, सरल र छरितो सेवा, बेरोजगारी र गरिबीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चाहना केवल सत्ताको छिनाझपटमै सकिने भो ।’

नेपालका लागि राजनीतिक अस्थिरता कसैले सराप दिएर छोडेजस्तो भएको टिप्पणी गर्दै उनले कांग्रेसले अब माओवादीलाई छोडेर राजनीतिक स्थायित्वको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । ट्विटरमा लेख्दै उनले भनेका छन्, ‘अस्थिरता नेपालको अभिशप्त नियति भो । देउवाले प्रचण्डलाई छोडे हुने । गठबन्धन नै गाँठो नपरोस । शुभकामना !!!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *