गठबन्धनमा कुरा नमिले, यस्ताे छ देवाकाे ‘प्लान बी’

काठमाडाैँ । राजनितिक दलहरु नयाँ सरकार गठनको गृहकार्यमा बेजोडसँग लाग्न थालेका छन् । सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार विस्थापन भएर जनादेशबाट आएको सरकार कस्तो र कसको नेतृत्वमा बन्ला भन्ने चासो र चर्चा सुरु भएको छ ।

देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउन गुन गरेको भन्दै अब आफ्नो पालो भएको दाबी गर्दैै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सरकार आफ्नो नेतृत्वमा बनाउने खेल सुरु गरिसकेका छन् । प्रचण्डले जत्तिनै रोइकराई गरे पनि प्रधानमन्त्री दिने पक्षमा देउवा नभएको बताइएको छ ।

प्रचण्डसँग अब आफ्नो पालो भन्ने भन्दा अरु कुनै गतिलो तर्क रहेको देखिँदैन । निर्वाचनमा नमज्जासँग धक्का खाएको माओवादी केन्द्र भित्र सरकारमा जान हुँदैन भन्ने मत बलियो हुँदै गएको छ तर प्रचण्ड भने जुन सुकै मुल्यमा पनि प्रधानमन्त्री बन्ने दाउमा रहेका छन् । जति खेल खेले पनि प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना भने समाप्त हुँदै गएको विश्लेषण राजनितिक वृतमा चलिरहेको छ ।

राजनितिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री नबन्ने ठोकुवा गरेका छन् । प्रचण्डले अब प्रधानमन्त्री बन्ने दिन सकिएको भन्दै डा भण्डारीले बालुवाटारमा काग्रेस सभापती शेरबहादुर देउवाले बनाइरहेको गोप्य योजनाको समेत खुलासा गरेका छन् ।

ओटिभी नेपाल डटकमसँगको विशेष कुराकानीमा डा भण्डारीले एमाले र माओवादी केन्द्रलाई सरकार बाहिरै राखेर बहुमत पुर्याउने खेलमा काग्रेस लागेको दाबी उनले गरेका छन् । नेपाली काग्रेसले राप्रपा , रास्वपा , नेकपा एस लगायतका दललाई लिएर सरकार बनाउने डा भण्डारीले भनेका छन्।

माओवादी केन्द्रसँग अब लामो सहयात्रा गर्न सकिँदैन भन्नेमा काग्रेस भित्र एक मत रहेको भन्दै डा भण्डारीले अस्थिरताका कारकका रुपमा चिनिएका प्रचण्डलाई यहि बेलामा साइजमा राख्ने काग्रेसको तयारी रहेको भनेका छन् । प्रधानमन्त्री मात्रै होइन राष्ट्रपति पनि काग्रेसले माओवादीलाई नदिने ठोकुवा उनले गरेका छन् ।

के राप्रपा र रास्वपमा सरकारमा जान तयार होलान् त ? भन्ने ओटिभि नेपाल डटकमको प्रश्नमा डा भण्डारीले उपप्रधानमन्त्री पाए राजेन्द्र लिंदेन कुदेर सरकारमा जाने ठोकुवा गरेका छन् । राप्रपामा सत्ताका लागी हुरुक्क हुनेहरुलेनै चुनाव जितेर आएको पनि उनले भनेका छन् । पशुपती शमशेर राणा सभामुख हुने खेलमा रहेको दाबी डा भण्डारीको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपा पनि सरकारमा जाने विश्लेषण डा भण्डारीले गरेका छन् । रवि लामिछाने बाहिर बाहिर सरकारमा जाने नजाने बिषयमा केहि नबोले पनि भित्र भित्रै सरकारमा जाने गरी बार्गेनिङ गरिरहेको कुरा स्वयं सोही पार्टीका नेताहरुले बताइरहेको कुरा डा भण्डारीले भनेका छन् । चक्रपथ डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *