नवलपुरमा निर्माणाधीन पुल बगायो

नवलपुर। नवलपुरको बौदीखोलामा आएको बाढीले बौदीकालीमा निर्माणाधीन पुल बगाएको छ ।

बौदीकाली गाउँपालिकाको वडा नं १ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको हो ।

बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिए ।

प्रदेश सरकारको तीन करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार यस पुलको आज ढलान गर्ने तयारीका साथ काम भइरहेको थियो । खोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको पुल बगाएपछि लाखौँ रुपैयाँको नोक्सानी भएको सुवेदीले बताए ।

अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीका कारण नवलपुर र तनहुँ जोड्ने पक्की पुल जोखिममा परेको छ । बौदीकाली–४ र तनहुँको घिरिङ गाउँपालिका–४ जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको पक्की पुल जोखिममा परेको सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published.