बीस वर्षे निखिल च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै, ६ जनालाई रोजगारी

रेसुङ्गा । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए ।

अहिले २० वर्ष पुगेका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लागे । रु दुई लाख लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले ।

उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन् । दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गरेका उनले च्याउलाई ५० टनेलमा विस्तार गर्दैछन् । आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य छ ।

वार्षिक रु एक लाख तिरेर जग्गा लिजमा लिएका निखिलले च्याउ खेतीमा रु २५ लाख लगानी गरेका छन् । उनले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताए । निखिले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पढे ।

त्यतिखेर प्रयोगात्मक सिकाइको क्रममा उनी च्याउ खेती गर्नेमा बढी आकर्षित भए । कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित भए ।

डेढ वर्षअघिबाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक रु दुई लाख आम्दानी भएको फार्म सञ्चालक निखिलको भनाइ छ ।

“च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्याउनुपर्छ”, उनी भन्छन्, “वर्षभरलाई औसतमा हेर्दा मासिक रु दुई लाख आम्दानी हुन्छ ।” आम्दानी भएको रकम च्याउ खेतीमै लगानी भइरहेको छ । फार्मका २० टनेलमा अहिले सिताके र कन्या च्याउ छन् ।

मौसममा दैनिक आठ क्विन्टल र अघिपछि दैनिक एक क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ । औसतमा तीन क्विन्टल दैनिक बिक्री हुने उनले बताए । च्याउ प्रतिकिलोग्राम रु एक सय ५० देखि दुई सयसम्म पर्छ ।

प्राविधिक ज्ञानमा आफैँ पोख्त बीस वर्षका निखिलले फार्ममा छ जनालाई आवासीय सेवा सुविधासहित रोजगार दिएका छन् । “आफ्नै ठाउँमा कामदार पाउन गाह्रो रहेछ, टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु”, उनले भने । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *