तोशिमा कार्कीको स्वघोषणा : ‘राज्यबाट प्राप्त हुने सबै तलबभत्ता सामाजिक काममा उपयोग गर्छु’

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोशिमा कार्कीले सांसद भएवापत राज्यबाट आफूले प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक काममा खर्च गर्ने घोषणा गरेकी छिन् ।

ललितपुर निर्वाचन क्षेत्र नं. ३ की सांसद कार्कीले आफूलाई प्राप्त हुने तलबभत्ताको रकमबाट सुरूमा नि:शुल्क महिनावारी सामग्री वितरण अभियान सञ्चालन गर्ने बताएकी हुन् ।

उनले आफनो निर्वाचन क्षेत्रमा भएका सामुदायिक र सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ति नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने र नपुगेको अवस्थामा आफ्नो कोष खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

‘राज्यबाट दिइने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामका लागि उपयोग गर्नेछु,’ आफ्नो स्वघोषणाबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,

‘सुरूवात : ‘नि:शुल्क महिनावारी सामग्री अभियान’ ललितपुर ३ मा भएका सामुदायिक र सरकारी विद्यालयहरूमा महिला छात्राहरुका निम्ति नि:शुल्क सेनेटरी प्याड वितरणका लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु ।’

एमालेबाहेकका दललाई देशको होइन, कुन पद खान पाइन्छ भन्ने चिन्ता मात्रै छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा सृजना भएको राजनीतिक अस्थिरता, सामाजिक तथा साँस्कृतिक विचलन र भयावह आर्थिक अवस्थाबारे एमालेलाई सर्वाधिक चिन्ता रहेको बताएका छन् ।

एमालेबाहेकका दललाई देशको नभइ कुन पद खान पाइन्छ भन्ने मात्रै चिन्ता रहेको चर्चा गर्दै ओलीले सरकारमा जाने वा अरु दललाई समर्थन गर्ने हतारो एमालेलाई नभएको स्पष्ट गरे । एमाले सरकार गठनको दाबी गर्न सक्ने पार्टी भए पनि त्यो दौडमा एमाले नभएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले स्थिरता र स्थायित्व, देशको अवस्थामा सुधार, समाजलाई अनुशासनमा फर्काउने चाहना र राष्ट्रियताका सवालमा एमालेको धारणामा सहमत हुने दलसँग सहकार्य र समर्थन रहन सक्ने स्पष्ट पारेका छन् ।

सरकार गठनमा माओवादीलाई समर्थनको सम्भावनाका सन्दर्भलाई सङ्केत गर्दै ओलीले भने, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्णय गर्न ढिला गर्नुभयो, अब प्रधानमन्त्री बन्ने सम्भावना करिब सकियो ।’

सरकार गठनमा यस्तो अवस्था भई रह्यो, दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि नसोच्ने हो भने देश घुमिफिरी मध्यावधितिर पनि जानसक्ने भनाई अध्यक्ष ओलीको छ ।

नेकपा एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चद्वारा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यलाई बधाई तथा सम्मानका लागि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकार गठनसम्बन्धी पार्टीको धारणा व्यक्त गरे ।

अध्यक्ष ओलीले नेकपा (एमाले) लाई सिध्याउन साढे दुई वर्ष अघिदेखि सुरू भएको षडयन्त्र र घेराबन्दीलाई मंसिर ४ गतेकोे निर्वाचनमा आइपुग्दा पराजित गरेको बताए ।

उनले भने, ‘नेकपा (एमाले) लाई निर्वाचनबाट सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित गरेका छौं, आगामी दिनमा ठूलो सफलताको तयारीमा जुट्ने छौं ।’

अध्यक्ष ओलीले यस निर्वाचनमा नेपाली काँग्रेसलगायत सत्ता गठबन्धनमा रहेका दलहरूले बुथ क्याप्चर, हत्या, हिंसालगायत चरम अनियमितता गरेर सीटको हिसाबले काँग्रेसलाई पहिलो र एमालेलाई दोस्रो घोषणा गराउन सफल भएको बताए ।

उनले बहुतै प्रतिकुल परिस्थितिमा पनि प्युठानमा अरुको विचारमा हिड्नेलगायत प्रतिगामी तत्वहरूलाई एकमुष्ट पराजित गरी देशभक्त शक्तिलाई अत्यधिक मतका साथ विजयी बनाउने प्युठानी मतदाता र पार्टीका कार्यकर्तालाई धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *